विज्ञान र अनुसन्धानलाई अर्थतन्त्रसँग जोड्नुपर्छ : शिक्षामन्त्री पुन
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान र वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने औँल्याएका छन् ।
शनिबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा आयोजित ४३औँ वार्षिकोत्सव विशेष पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री पुनले विज्ञान र प्रविधिमा पर्याप्त लगानी नहुनु र यसलाई अर्थतन्त्रबाट अलग राख्नु नै यस क्षेत्र कमजोर हुनुको मुख्य कारण भएको बताए ।
उनले भने, 'आर्थिक अभावका कारण नेपालीले दुःख भोगिरहेका छन्। पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म हामी पछि पर्नुको कारण विज्ञान र प्रविधिप्रति बेवास्ता हो।' मन्त्री पुनले वैज्ञानिक सोच र प्रविधि विकासको गति सुस्त हुनु विगतदेखि वर्तमानसम्मका संरचनागत समस्याको परिणाम भएको पनि बताए।
मन्त्री पुनले वैज्ञानिक अनुसन्धान र शैक्षिक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिँदै भने, 'विज्ञानको प्रभावकारी प्रयोग गर्दै अनुसन्धानलाई व्यावहारिक रूपान्तरण गर्नुपर्छ। अनुसन्धान र आविष्कारका क्षेत्रमा कन्जुस्याइँ नगरी सरकारले योजनाबद्ध विकासमा जोड दिनुपर्छ।'
उनले कम्तीमा तीन अर्ब रुपैयाँ बजेट अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्ने योजना सार्वजनिक गरे। साथै, उनले नास्टले सीमित स्रोतसाधनमा पनि प्रभावकारी नतिजा दिएको र व्यक्तिगत स्तरमा नवप्रवर्तन केन्द्र सञ्चालन गर्ने परम्परा न्यून रहेकामा चिन्ता व्यक्त गरे।
कार्यक्रममा नास्टले विभिन्न अनुसन्धानमूलक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १३ जना वैज्ञानिकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो।
.gif)

.png)

