टिकटकमा ‘एक्स्पोज झोले’ ट्रेन्डिङमा
दुई दिनमा बन्यो लाखौं भिडियो

काठमाडौं : सामाजिक सञ्जाल टिकटक र फेसबुकमा ‘एक्स्पोज झोले’ ट्रेन्ड सुरु भएको छ । जेनजी आन्दोलनको आधार तयार पारेको ‘नेपोबेबी ट्रेन्ड’ चलाएका युवाहरुले नै ‘एक्स्पोज झोले’ अभियान चलाएका हुन् । यो अभियान अहिले खासगरी टिकटकमा ट्रेन्डिङमा छ ।
उनीहरुले ‘जेनजी’ आन्दोलनपछि पार्टीका नेता तथा कार्यकर्ताहरुसँग देखिएका तस्बिरहरु पोष्ट गर्दै ‘एक्स्पोज झोले’ अभियान चलाएका छन् । अरु काम छाडेर नेताको पछि मात्र हिँड्ने कार्यकर्तालाई ‘झोले’ भन्दै उनीहरुले पोष्ट गरेका छन्, ‘लेट्स एक्सपोज झोले ।’
‘एक्स्पोज झोले’ ट्रेन्डमा बढी तस्बिर र भिडियोहरु एमाले अध्यक्ष केपी शर्मा ओलीका राखिएका छन् । भक्त्तपुरको गुन्डुमा कार्यकर्तासँग अध्यक्ष ओलीले भेटेका तस्बिर र भिडियोहरु माथि भेडाबाख्रा कराएका आवाज राखिएको छ ।
यसैगरी ‘एक्स्पोज झोले’ अभियानमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता महेश बस्नेत लगायतका तस्बिर र भिडियो राखिएका छन् ।
जेठ २३ को जेनजी विद्रोह र २४ गतेको प्रर्दशनपछि पनि दलहरु नसुध्रिएको भन्दै ‘एक्स्पोज झोले’ अभियान चलाइएको यस अभियानका एक सदस्यले बताए ।
यसअघि नेकपा (एमाले)ले झोले अभियान चलाएका थिए । जेठ १५ मा गणतन्त्र उत्सवका दिन एमालेको जुलुस भइरहेका बेला ट्राफिक जाममा परेका सर्वसाधारणले एमाले कार्यकर्तालाई ‘झोले’ भन्दै विरोध गरे । राजावादीहरूको जुलुसमा पनि ‘एमालेको झोले शब्द’ प्रयोग गरियो ।
सामाजिक सञ्जालमा पनि एमाले नेता तथा कार्यकर्तालाई ‘झोले’ को संज्ञा दिँदै आलोचना हुन थाल्यो । त्यसले तात्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आक्रोशित बनायो । यसपछि १९ जेठदेखि ओलीले ‘म झोले’ भन्ने अभियान नै चलाएका थिए ।