संसद् विघटन असंवैधानिक भएको कांग्रेसको ठहर, नेतृत्व फेर्न महामन्त्रीद्वयको दबाब

काठमाडौँ : नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको भन्दै विरोध गर्ने निर्णय गरेको हो ।
साथै, नेपाली कांग्रेसले कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी नदिने निर्णय गरेको छ । बैठकले कार्यवाहक नदिने र विशेष महाधिवेशन पनि नगर्ने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।
यता, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिमा नेतृत्व परिवर्तनको विषय उठाएका छन् । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको व्यवस्थापनका लागि भन्दै महामन्त्रीद्वयले तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने सुझाव पेस गरेका थिए । युवापुस्ताको आवाज सुनवाइ गरिएन भने पार्टीको भविष्य नै जोखिममा पर्ने उनीहरूको चिन्ता थियो ।
तर, उपसभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय समिति बैठकमा जे निर्णय गरे पनि एकमत भएर कार्यान्वयन गर्ने र पार्टी एक ढिक्का बनाउने प्रस्ताव गरेपछि बाँकी सदस्यहरू मौन रहेका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउको पछाडि भाग र गर्धनमा गरी दुई ठाउँमा चोट लागेको र १२ वटा टाँका लगाइएको कांग्रेसले जनाएको छ । भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित घरमै रहेका देउवा दम्पतीमाथि प्रदर्शनकारीले आक्रमण गरी घाइते बनाएका थिए । देउवा दम्पती अहिले पनि शिवपुरीमै उपचाररत छन्।