धरानले २ अर्ब बराबरको बजेट शनिबार ल्याउँदै

सुनसरी – धरान उपमहानगरपालिकाले शनिबार २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट ल्याउने भएको छ । यसअघि विवादका कारण तोकिएको समयमा बजेट पारित गर्न नसकेको धरानले कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम र बजेटलाई अनुमोदन गरेसँगै नगरसभा डाक्ने मिति निश्चित गरेको छ ।
संविधानतः असार १० गतेभित्र नगरसभा गरेर बजेट पारित गर्नुपर्ने प्रावधान रहे पनि धरान उपमहानगरपालिकामा यो समय सीमाभित्र बजेट पास गर्न सकेको थिएन । यद्यपि, अब कार्यपालिकाबाट बजेट पारित भइसकेपछि नगरसभा ४ असोजमा डाकिएको हो ।
धरानको बजेटमा परिमाण र स्रोत अनुमानको सीमाले २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको सिलिङ तय गरिएको थियो। यस सिलिङमा एमालेको असहमतिका बाबजुद मेयर हर्क साम्पाङले अल्पमतबाटै बजेट पारित गरेको बताएका थिए। विवादपछि पुँजीगत खर्चमा २० प्रतिशत घटाउने सहमति भएपछि कुल १ अर्ब ९८ करोड रुपैयाँको बजेट पास गरिएको छ।
यसअघि, गत भदौ २६ गते नगरसभा गर्ने निर्णय भएको थियो, तर भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण नगरसभा स्थगित भएको थियो।