‘शहीद’ बन्न तयार छु भन्ने राष्ट्रपतिको अठोटमा सरकार गठनपछि संसद विघटन

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटनपछि मात्र सरकार गठन गर्ने जेनजीको मागमा आफू बरु शहीद हुन तयार रहेको तर संविधानभन्दा बाहिर नजाने अडान लिएको प्रसङ्ग सुनाएका छन् ।
शीतल निवासमा बिहीबार नागरिक अगुवाहरूसँग भेटमा राष्ट्रपति पौडेलले संसद् विघटन गरेर अन्तरिम सरकार गठन गर्न आफूले नमानेको प्रसङ्ग सुनाएका हुन्।
राष्ट्रपतिको अडानकै कारण पहिले अन्तरिम सरकार गठन त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएको थियो । आन्दोलनकारीहरूले पहिले नै प्रतिनिधिसभा विघटन हुनुपर्ने अडान राखिरहेका थिए ।
उनले मुस्किलले सम्हाल्दै यो अवस्थामा आएको उल्लेख गर्दै अब चुनावको विषय प्राथमिकतामा रहेको बताए । उनले चुनावका अत्यावश्यक बाहेक अन्य प्रकारका कुनै अध्यादेशहरू आए आफूले नस्विकार्ने पनि नागरिक समाजका अगुवालाई बताएका थिए ।
भेटमा राष्ट्रपति पौडेलले ‘असहज परिस्थितिमा संविधान केही तल माथि हुन गएको’ बताएका थिए। संविधान अनुसार सरकारको गठन धारा ७६ अनुसार हुनुपर्ने भए पनि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार धारा ६१ अनुसार गठन भएको थियो।
भेटमा संलग्न वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार राष्ट्रपति पौडेलले असाधारण परिस्थितिमा आफूले भूमिका खेलेको बताएका थिए । चीनका लागि पूर्वराजदूत महेश मास्के, मानव अधिकारवादी मल्ल के सुन्दरसहित नागरिक अगुवाहरू राष्ट्रपति पौडेललाई भेट्न बिहीबार शीतल निवास पुगेका थिए।
भेटमा नागरिक अगुवाहरूले ‘संविधानको थप क्षति नहोस् भन्नेमा’ राष्ट्रपति सचेत बन्नुपर्ने बताएका थिए । उनीहरूले ‘राजनीतिक दलको भूमिका खुम्च्याउने र प्रतिशोध साँध्ने काम नहोस्’ भन्दै राष्ट्रपतिलाई सुझाएका थिए।