पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी । पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो ।
पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ । राजमार्ग अवरुद्घ हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका गाडीहरु अहिले बीचबाटोमै रोकिएका छन् ।
राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताए । यसअघि मङ्गलबार पनि पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध भएको थियो । रासस