युएईले नेपालीलाई भिजिट भिसामा प्रतिबन्ध लगायो

काठमाडौँ : संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकलाई भिजिट भिसा जारी गर्न सोमबारदेखि अस्थायी रूपमा रोक लगाएको छ ।
यद्यपि, युएईले यसबारे कुनै आधिकारिक सूचना जारी नगरेको भए पनि भिसा सेवा प्रदान गर्ने संस्थाहरूले भिजिट भिसाका आवेदनहरू लिन बन्द गरिसकेका हुन् ।
गत भदौ २४ गते जेनजी प्रदर्शनमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाहरूमा संलग्न व्यक्तिहरूको अनुसन्धान र कारबाहीको प्रक्रिया भइरहेको खबरका बीच युएईले नेपाली नागरिकको भिजिट भिसाको आवेदन प्रक्रिया रोक्ने निर्णय गरेको अनुमान गरिएको छ। नेपालबाट सबैभन्दा बढी भिजिट भिसा लिई जाने देश युएई हो ।
पछिल्लो समयमा युएईमा भिजिट भिसामार्फत रोजगारीको लागि जाने नेपालीहरूको संख्या उल्लेखनीय रूपले बढेको छ। नेपाली दूतावास स्रोतका अनुसार युएईमा भिजिट भिसामा गएर रोजगार भिसामा रूपान्तरण गर्ने नेपालीहरूको संख्या तीन लाख नाघेको छ ।
हाल युएईमा करिब ८ लाख नेपाली कामदारहरू कार्यरत छन्।