जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन हुने

काठमाडौं : सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त निर्णय गरेको हो।
आन्दोलनका क्रममा भएको जनधनको क्षति र सुरक्षाकर्मीबाट भएको ज्यादतीबारे छानबिन गर्न आयोग गठन गर्न लागिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । “जनधनको क्षति र घटनामा भएको ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ,” उनले भने।
आयोगको प्रतिवेदनको आधारमा आवश्यक कदम चालिनेछ भन्ने सैद्धान्तिक सहमति रहेको गृहमन्त्रीको भनाइ छ । आयोगको संरचना र सदस्यहरूको चयनबारे भने टुंगो लाग्न बाँकी रहेको जानकारी दिँदै गृहमन्त्रीले आयोगको संयोजकको रूपमा पूर्वन्यायाधीशलाई नियुक्त गर्ने सम्भावना रहेको जानकारी दिएका छन् ।
सरकारले आयोग गठनको निर्णयसँगै आन्दोलनका घटनाहरूको निष्पक्ष छानबिन गरेर त्यसका आधारमा आवश्यक निर्णय लिने प्रक्रिया अघि बढाउने तयारी गरेको छ।