देशभर १५३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन

काठमाडौँ : सरकारले चाडपर्वलक्षित देशका १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आजदेखि देशभरका १५३ स्थानमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गरेको हो ।
सहुलियत पसलमा सामानअनुसार ७० रुपैयाँसम्म छुट हुने भएको छ । छुट पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकिलो ५ देखि १० रुपैयाँ, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले २ देखि ७ रुपैयँ र दुग्ध विकास संस्थान (डीडीसी) ले ७० रुपैयाँसम्म छुट दिने जनाएको छ ।
मन्त्रालयले सोमबार निजी क्षेत्रका छाता संघ संगठन उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्श, महिला उद्यमी महासंघ नेपाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग छलफल गर्दै दैनिक उपभोग्य सामग्रीको अभाव नरहेको स्पष्ट पारेका हुन्।
कार्यक्रममा हालै मुलुकमा उत्पन्न विषम परिस्थितिबाट समग्र उद्योग, वाणिज्य, व्यापार तथा आपूर्ति क्षेत्रमा परेको प्रभावका साथै नजिकिँदै गएको चाडपर्वमा गर्नुपर्ने आपूर्ति तथा बजार व्यवस्थापनका सम्बन्धमा छलफल अन्तरक्रिया भएको मन्त्रालयले जनाएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी संरचना र निजी व्यावसायिक संस्थाहरूमा भएको आगजनी, तोडफोड र क्षतिको एकीकृत विवरण तयार गर्ने, औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी संरक्षण र प्रवर्धन गर्ने, निजी क्षेत्रको मनोबल उकास्ने र क्षतिग्रस्त संरचनाको पुनर्स्थापनाबारे समीक्षा गरिएको छ।
यस क्रममा सिर्जित असहज परिस्थिति विस्तारै सहज बन्दै गएको, अन्तर्राष्ट्रिय व्यापारका सीमा नाकाहरूमा भन्सार कार्यालयहरू सञ्चालन भई देशभर ढुवानी प्रणाली सहज भएको र व्यापार व्यवसायहरू पुनः सञ्चालन भई आपूर्ति श्रृङ्खला सुचारू भएको विषयमा मन्त्रालयका तर्फबाट जानकारी गराइयो।