तोडफोड, आगजनी र डकैतीको फुटेजसहित एनसेलले गर्‍यो प्रहरीमा उजुरी

उजुरीमा अपराधीले सुरक्षाकर्मीलाई धम्की दिई थुनी, कार्यालयका उपकरण र कागजात तोडफोड तथा डकैती गरेको उल्लेख


२०८२ भदौ ३० सोमबार १८:०० बजे

काठमाडौं :  निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले जेनजी प्रदर्शन क्रममा आफ्नो कार्यालयमा भएको तोडफोड, आगजनी र डकैतीविरुद्ध प्रहरीमा उजुरी दिएको छ । लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’ मा २४ भदौमा जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समूहले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना गराएको र कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै एनसेलले सोमबार जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएको हो ।

उजुरीमा यी घटनाहरूसँग संलग्न अपराधीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानूनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाई निजहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउनु पर्ने एनसेलले माग गरेको छ । आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति समेत दिलाई भराई पाऊँ भन्दै एनसेलले उजुरी गरेको छ ।

आन्दोलनमा कम्पनीको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीहरूलाई एक ठाउँमा राखेर जलाउने डर धाक धम्की दिई उनीहरूलाई कोठामा थुनी भवनमा तोडफोड तथा आगजनी गर्ने कार्य गरेको, भवनको अगाडि भागको सिसाहरू फुटाई कार्यालय भित्र प्रवेश गरि ग्राउन्ड फ्लोरमा रहेको कम्पनीको ग्राहक सेवा केन्द्र र रिसेप्सनमा रहेका कार्यालय प्रयोजनमा प्रयोग भएको उपकरणहरू तोडफोड तथा आगजनी गरेको, भवनको प्रत्येक तलामा प्रवेश गरी कार्यालयमा प्रयोग भएका प्रत्येक समानहरू तोडफोड गरेका, कम्पनीका सक्कल प्रमाणपत्र, अनुमति पत्र, जग्गाधनी प्रमाण पुर्जा एवं कार्यालयका महत्त्वपूर्ण अन्य कागजात आगजनी वा डकैतीका साथै नगद र कम्पनीका सेफहरू समेत लुटेर लगेको उजुरीमा उल्लेख गरिएको छ ।

एनसेलले आफ्नो कार्यालयको १० वटै तलामा रहेका बहुमूल्य विद्युतीय सामान, कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डर मेसिन लगायत कार्यालयको काममा प्रयोग हुने सामान डकैती गरी लगेको, कर्मचारीलाई वितरण गरेको प्रत्येक लकर फोडेर ल्यापटप तथा अन्य व्यक्तिगत सामान तथा गहना डकैती गरेको, मिटिङ हलमा रहेको टीभी, मोनिटर तथा भवनको दोस्रो तलामा रहेको फिटनेसका सामान बाहिर फालेर केही उपकरण आगजनी गरेको पनि उजुरीमा उल्लेख छ ।

यस्तै अधिकांश उपकरण डकैती गरी झिकेर लगेको, कम्पनीका आफ्नै र तेस्रो पक्षबाट भाडामा लिएका महँगा मोटरगाडी भेहिकल रुमबाट गाडीका साँचो नियन्त्रणमा लिई पालैपालो गरी भवनको आँगनमा ल्याई जलाएको र केही सवारीसाधन भवनको कम्पाउन्ड बाहिर बाटोमा ल्याई आगो लगाई पूर्णरूपमा ध्वस्त गरेको र कम्पनीका कर्मचारीका गाडी समेत तोडफोडका साथै आगजनी गरी ठूलो आर्थिक तथा भौतिक नोक्सानी गरेको उजुरीमा खुलाइएको छ ।

प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची उपलब्ध गराएको छ । साथै, घटना क्रममा कैद भएका सम्पूर्ण सीसीटीभी फुटेज पनि अनुसन्धानलाई सहयोग पुग्ने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको एनसेलले जनाएको छ ।तोडफोड, आगजनी, डकैतीबाट कम्पनीको सम्पत्तिमा भएको वास्तविक क्षति यकिन गर्न मूल्यांकन कार्य भइरहेको हुँदा अनुसन्धान सिलसिलामा त्यसको थप विवरण उपलब्ध गराउने पनि जानकारी उजुरीमा छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७