डिजिटल नेपाल निर्माणमा योगदान दिने एनसेलको प्रतिबद्धता

काठमाडौँ : जेनजी प्रदर्शनको क्रममा भएको तोडफोडका घटनाबाट एनसेलका काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा ठूलो क्षति पुगेको छ। एनसेलले एक विज्ञप्ति जारी गर्दै यस घटनाले भौतिक संरचना, कर्मचारी सुरक्षा र सेवा निरन्तरतामा गम्भीर चुनौती उत्पन्न गरेको जानकारी दिएको छ।
यस्तो कठिन परिस्थितिमा पनि एनसेलले आफ्नो सेवा समर्पणलाई कायम राख्दै, प्रयोगकर्ताहरूका लागि तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा उपलब्ध गराएको थियो। कम्पनीले सेवा निरन्तरता र ग्राहकप्रतिको जिम्मेवारीलाई उच्च प्राथमिकता दिएको स्पष्ट पार्दै भनेको छ, "हाम्रा ग्राहकप्रतिको समर्पण कहिल्यै कमजोर हुँदैन।"
एनसेलले विगत २० वर्षदेखि नेपाली जनतालाई सेवा दिँदै आएको र आगामी दिनमा झनै दृढ संकल्पसहित डिजिटल नेपाल निर्माणमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपालमा नयाँ अन्तरिम सरकार गठन भएको सन्दर्भमा एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै देशमा शान्ति, एकता र समृद्धि ल्याउने विश्वास व्यक्त गरेको छ।
कम्पनीले सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट रोजगारी सिर्जना, आर्थिक वृद्धि र डिजिटल रुपान्तरणमा योगदान पुर्याउँदै आएको उल्लेख गर्दै, भविष्यमा अझ मजबूतका साथ अघि बढ्ने बताएको छ।
यसैक्रममा, आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य-लाभको कामना पनि व्यक्त गरिएको छ।