जेनजी प्रदर्शन : लोकसेवा आयोग जलाउने पक्राउ

काठमाडौँ : जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट लुटिएको हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ५०/६० जनाको समूहले गत भदौ २४ गते बेलुकी जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।
चारपाङ्ग्रे गाडी ४ वटा, मोटरसाइकल ४ वटा, सीसीटीभी क्यामेरा तथा अन्य भौतिक संरचना तोडफोड गर्दै सुरक्षार्थ खटिएको नेपाल प्रहरीकै एसएलआर राइफल १ थान र त्यसमा प्रयोग हुने ५० राउन्ड गोली समेत लुटपाट गरेका थिए ।
सीसीटीभी फुटेजको आधारमा हतियार लुटपाटमा संलग्न जनकपुरधाम–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । लुटिएको हतियार पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।