कैलाली कारागारबाट भागेका ११८ कैदीबन्दी फर्किए, ५ सय अझै फरार

धनगढी । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका १ सय १८ कैदीबन्दी फर्किएका छन् ।
कैलाली कारागारका जेलर चिरञ्जीवी सापकोटाका अनुसार आइतबार मात्रै १५ जना महिला कैदी कारागारको सम्पर्कमा आएका थिए ।
कारागार प्रशासनले सबै कैदीलाई फर्कन सूचना जारी गरेपछि उनीहरू कारागारको सम्पर्कमा आउन थालेका हुन् ।
कतिपयलाई भाग्ने क्रममा पनि प्रहरीले पक्राउ गरेको छ । जेलर सापकोटाका अनुसार दाङबाट दुईजना र दार्चुलाबाट दुईजना पक्राउ परेका छन् ।
यस्तै, बझाङबाट पनि दुई जना पक्राउ परेका छन् । भाग्ने क्रममा घाइते भएका उनीहरूको हाल उपचार भइरहेको छ ।
यस्तै एक जना भारतीय कैदी पनि सम्पर्कमा आएका छन् । अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कैलाली कारागारमा ६ सय १८ कैदी थिए । आन्दोलनका क्रममा प्रदर्शनकारी कारागार प्रवेश गरेपछि सबै कैदी फरार भएका हुन् ।