कारागार फर्किने रवि लामिछानेको घोषणा

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जन्मदिनकै दिन स्वेच्छाले कारागार जान लागेको बताएका छन् ।
शनिबार आफ्नो जन्मदिनसमेत परेको भन्दै आफूलाई उपहार स्वरुप कारागार जान लागेको लामिछानेले बताएका छन् ।
राजनीतिक प्रतिशोधका आधारमा आफूलाई झूट्टा मुद्दामा फसाइएको आरोपलाई निरन्तरता दिँदै लामिछानेले भने, ‘म जेल जान तयार छु तर, देशमा कानुन मान्नेहरूलाई नै कमजोर बनाउने क्रम अब रोकिनुपर्छ।’
लामिछानेले आन्तरिम सरकारप्रति केही भरोसा राख्दै भने, ‘अब न्यायकी प्रतिमूर्ति प्रधानमन्त्री भएकी छन्, आशा छ, अन्याय हुन्न।’
साथै आफूलाई कारागारबाट निकालिएको विषयमा पनि रबिले बोलेका छन् । त्यतिबेला भिडबाट आफूलाई भन्दा पनि जेललाई जोगाउन चिठी दिएर निकालिएको बताउँदै पछि चिठीको वैधानिकतामाथि प्रश्न उठेको हुँदा त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई अप्ठ्यारोमा नपार्ने लामिछानेको भनाइ छ ।
तर, चिठी थमाएर आफूलाई बाहिर पठाउने काम भए पनि रबिको कारणले देशभरिका कैदी भागे भनेर बदनामी र मिडियाबाजी गरेको भन्दै उनले दुखेसो पोखेका छन् ।