कञ्चनपुरमा निषेधाज्ञा जारी, यातायात सञ्चालन

कञ्चनपुरः कञ्चनपुरमा निषेधाज्ञा जारी भए पनि सार्वजनिक यातायातका साधन भने सञ्चालन भएका छन् ।
महेन्द्रनगरका यातायात व्यवसायीहरूले निषेधाज्ञाबिच शनिवार बिहानदेखि यातायातका साधन सञ्चालनमा ल्याएका हुन् । महेन्द्रनगर बसपार्कमा रहेको टिकट काउन्टर भने बन्द नै छ ।
तर, साना तथा ठुला सवारी साधनहरू सञ्चालनमा ल्याइएको यहाँका व्यवसायीहरूले बताएका छन् । लगातार तीन दिन यातायात ठप्प हुँदा जिल्लामा यात्रुहरु अलपत्र परेकाले सवारी साधन सञ्चालन गर्नुपरेको व्यवसायीको भनाइ छ ।
व्यवसायीका अनुसार जिल्लामा निषेधाज्ञा जारी रहे पनि यात्रुहरुको मागअनुसार यातायातका साधन सञ्चालनमा ल्याइएको हो । प्रशासनले निषेधाज्ञा जारी गरे पनि कञ्चनपुरका बस व्यवसायी, ट्याम्पो व्यवसायी, अटो व्यवसायीहले सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।
सार्वजनिक यातायात खुलेसँग अलपत्र परेका यात्रुहरू गन्तव्यमा जान थालेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबार साँझ ७ बजेसम्म जिल्लामा निषेधाज्ञा जारी रहेको जनाएको छ ।