सुशीला कार्कीलाई बालेनले गरे समर्थन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रतिनिधिले अन्तरिम सरकार नेतृत्वका लागि प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाममा समर्थन जनाएका छन् । बालेनले बुधबार राति सवा १० सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले अन्तरिम सरकार गठन र संसद विघटन अविलम्ब गर्न पनि राष्ट्रपतिसँग आग्रह गरेका छन्। ‘यो अन्तरिम/चुनावी सरकारको नेतृत्व गर्न तपाईंहरूबाट आएको प्रस्ताव पूर्वप्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ। तपाईंहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु' उनले लेखेका छन्।
यसअघि जेन-जी युवाहरूको एउटा समूहले कार्कीको नाममा सहमति जनाउँदै प्रधानसेनापतिलाई प्रस्ताव गरेका थिए। तर सैनिक मुख्यालय बाहिर भेला भएका छुट्टाछुट्टै युवा समूहहरूले भने धरानका मेयर हर्क साम्पाङ र स्वयं बालेन शाहकै नाम पनि लिइरहेका छन्।
बालेनले सामाजिक सञ्जालमा सार्वजनिक धारणा:
अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईंहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।
यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला। अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो।
यो अन्तरिमरचुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईंहरूबाट आएको प्रस्ताव पूर्वप्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ। तपाईंहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।
तपाईंहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।
अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने — तपाईंहरूको जोश, तपाईंहरूको सोच, तपाईंहरूको इमानदारी देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै। कृपया हतार नगर्नु होला।
सम्माननीय राष्ट्रपतिज्यू,
जेन–जीहरूले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकार गठन र संसद विघटन अविलम्ब गर्नु होला।