सुशीला कार्कीको प्रस्तावपछि जेनजी समूहमा विवाद

काठमाडौं : आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारिएपछि जेनजी समूहमा विवाद भएको छ । अहिले नेपाली सेनाको मुख्यालयमा जेनजी युवाहरूले नयाँ नेतृत्वको विषयलाई लिएर प्रदर्शन सुरु गरेका छन् ।
उनीहरूले कार्की नयाँ नेतृत्वमा आउन नहुने भन्दै विरोध गरिरहेका हुन् । जेन–जी नेपालले आज आयोजना गरेको भर्चुअल बैठकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको अध्यक्षको रूपमा प्रस्ताव गर्न बहुमत सहभागीहरू सहमत भएको बताइन्छ ।
धेरै युवाले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम समेत प्रस्ताव गरेका थिए । तर, उनी सम्पर्कमा नआएको कतिपयको गुनासो छ । मंगलबार बेलुकी उनले स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका गर्न तयार रहन भनेका थिए ।
आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ ।
जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए ।
‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।’