कानुनी शासन स्थापित गर्न सहयोगका लागि प्रहरीको अपिल

काठमाडाैं : नेपाल प्रहरीले कानुनी शासन स्थापित गर्न सबैलाई सहयोग गर्न अनुरोध गरेको छ। मंगलबार राति प्रहरी महानिरीक्षकको सचिवालयले एक विज्ञप्ति जारी गर्दै कानुनी शासन स्थापित गर्न सबैलाई सहयोग गर्न अनुरोध गरेको हो।
‘उत्पन्न परिणाम स्वरूप परिस्थितिलाई बिग्रन नदिन र नागरिक-प्रहरी साझेदारीपूर्ण, शान्तिपूर्ण सहकार्यको माध्यमले आन्दोलनका क्रममा भएका घाइतेको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि आपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनर्स्थापनार्थ निर्वाह गर्नुपर्ने राष्ट्रिय दायित्वमा एकाकार भई प्रहरीलाई सार्वजनिक शान्ति अमन चयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुन कार्यान्वयनको माध्यमले कानुनी शासन स्थापित गर्ने कार्यमा सबैले साथ सहयोग प्रदान गर्नु हुन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ,’ उनले भने।
अपिलमा सार्वजनिक शान्ति, अमनचयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुनी शासन स्थापित गर्नका लागि प्रहरीलाई सहयोग गर्न सबैमा हार्दिक अनुरोध गरिएको छ।
नेपाल प्रहरीले यस विषम परिस्थितिमा नागरिक-प्रहरी साझेदारीको माध्यमबाट शान्ति पुनर्स्थापनाका लागि आफ्नो राष्ट्रिय दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ।