राति १० बजेबाट नेपाली सेनाले कमाण्ड सम्हाल्ने


२०८२ भदौ २४ मंगलबार २१:४० बजे

काठमाडाैं : नेपाली सेनाले हालको आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न आग्रह गर्दै यदि त्यस्ता गतिविधि नरोकिएमा स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनी दिएको छ। 

एक सूचना जारी गर्दै सेनाले भदौ २४ गते राति १० बजेदेखि नेपाली सेना लगायतका सुरक्षा निकायहरू आफ्नो जिम्मेवारीमा दृढतापूर्वक प्रस्तुत हुने जनाएको छ।

नेपाली सेनाले हालको विषम परिस्थितिको फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, लुटपाट र आगजनी गर्ने काम गरिरहेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ।

यदि यस्ता गतिविधि नरोकिएमा नेपाल र नेपालीको सुरक्षाका लागि नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू स्थिति नियन्त्रणमा लिनका लागि तयार रहेको सेनाले स्पष्ट पारेको छ। "यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं," सूचनामा भनिएको छ।

 

सेनाको विज्ञप्ति:

नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु तैनाथ हुने सम्बन्धमा
१. हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न/नगराउन नेपाली सेना पुनः आग्रह गर्दछ ।

२. यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं । सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक अपिल समेत गर्दछौं ।

३. तत्पश्चात, सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७