नेपाली सेनाले गर्यो संयमता अपनाउन अपिल
नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ : नेपाली सेना

काठमाडौं : नेपाली सेनाले नेपाल र नेपाली जनताको जिउज्यानको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै परिस्थिति थप जटिल हुन नदिन र संयमता अपनाउन अपिल गरेको छ ।
यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य रहेको सेनाले स्मरण गराएको छ । सेनाले जारी गरेको यो विज्ञप्तिलाई चासोका साथ हेरिएको छ ।
‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ नेपाली सेनाले भनेको छ ।
सेनाले अघि भनेको छ, ‘तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।’
सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरुबारे नेपाली सेनाले विश्लेषण गरिरहेको उल्लेख गरेको छ।
‘यस आन्दोलनको क्रममा हुनपुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दछ’, सेनाले भनेको छ, ‘साथै घाइते बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ।’