एमाले विधान महाधिवेशन : आज अध्यक्ष ओलीको जवाफपछि प्रतिवेदन पारित गर्ने, आजै समापन

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज समापन गर्ने तयारी छ । प्रस्तुत प्रतिवेदनहरू पारित गर्ने र समसामयिक प्रस्ताव पारित गर्दै दोस्रो महाधिवेशन समापन गरिने एमालेले जनाएको छ ।
त्यसअघि प्रतिवेदनहरूमाथि उठेका जिज्ञासाको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन् ।
विधान महाविधेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन प्रस्तुत गरेका छन् ।
त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेका छन्।
यसैगरी स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत राख्ने कार्यसूची भएपनि अध्यक्ष ओलीले रोक लगाएका कारण फरक मत औपचारिक रुपमा प्रस्तुत भएन । यद्यपी थापाले सहभागीहरूलाई बाँडेको प्रतिवेदनउपर पनि छलफल भएको छ ।
महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि शनिबार १० वटा समूहमा छलफल भएको छ। शनिबार दिनभरको छलफलपछि त्यसको निष्कर्ष निकालेर प्रतिवेदन लेखन कार्यसमेत सुरु भएको छ। सहभागी प्रतिनिधिले दिएको सुझावका आधारमा १० वटै समूहले आफ्नो प्रतिवेदन लेखिरहेका छन्।
आज सबै समूहबाट टोली नेताले प्रतिवेदनहरूमाथि समूहगत छलफलका क्रममा प्रतिनिधिहरूले राखेका सुझाव प्रस्तुत गर्नेछन्।
त्यसपछि समूहगत रूपमा आएका प्रतिवेदनमा समेटिएका सुझाव, जिज्ञासाको अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ। तर, कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाउने तयारी एमालेले गरेको छ।
दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ । समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित भदौ २० गतेदेखि एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको थियो ।
विधान महाधिवेशनमा देशभरिका २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी २ हजार ३४१ जनाको सहभागिता छ ।