तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका पूर्वमन्त्री चौधरी भन्छन् : नेपालको स्वास्थ्यसेवा भारतभन्दा कम छैन


२०८२ भदौ २२ आइतबार ०८:४४ बजे

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको नेपालमा यो पहिलो घटना हो ।

कैलालीको टीकापुर नगरपालिका–५ का चौधरीको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यही भदौ ९ गते मिर्गौला प्रत्यारोपण गरिएको हो । 

केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठका अनुसार प्रत्यारोपण गरिएको १२औँ दिनमा चौधरी शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट २०७९ को प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद चौधरी दुई पटक मन्त्री भइसकेका छन् । चौधरीले यसअघि पहिलोपटक भारत र दोस्रोपटक केन्द्रबाटै प्रत्यारोपण गराएका थिए ।
नेपालको सरकारी स्वास्थ्य संस्थामा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गराउनु पाउनु निकै खुसीको कुरा भएको प्रदेशसभा सदस्य चौधरीले बताए ।

आफूलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्रोत, साधन र जनशक्तिप्रति पूर्ण विश्वास रहेकाले नै तेस्रो पटक पनि यहीँ प्रत्यारोपण गराएको उनले सुनाए ।

‘हामी जनप्रतिनिधिले नै यहाँका सरकारी स्वास्थ्य संस्थाको सेवामा विश्वास नगरे कसले गर्ने ?,’ चौधरीले भने, ‘आफ्नै देशभित्र यो खालको सेवा लिन पाउनु निकै खुसीको कुरा हो ।’

भारतमा प्रत्यारोपण गर्दाको भन्दा यहाँको सेवामा कुनै कमी नभएको उनको भनाइ छ ।

यसपटक चौधरीको ‘पेयर एक्सचेन्ज’ प्रणाली अर्थात् दुई बिरामीका आफन्तबीच मिर्गौला सट्टापट्टा गरी प्रत्यारोपण गरिएको हो ।

नेपालमा तेस्रोपटक सफल मिर्गौला प्रत्यारोपण गरिएको यो पहिलो केस रहेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारले बताए ।

‘एकै व्यक्तिमा तेस्रो पटक गरिएको प्रत्यारोपण सफल भइसकेको छ’ डा.पुकार भन्छन्, ‘नेपालको प्रत्यारोपण सेवा विश्वस्तरीय छ भन्ने यो भन्दा गतिलो उदाहरण के हुनसक्छ ?’

अस्पतालले स्थापनाको १३ वर्षमा १५ सयको मिर्गौला प्रत्यारोपण गरे पनि हालसम्म दोस्रो पटक प्रत्यारोपण २० जनाको मात्रै भएको छ । तेस्रो प्रत्यारोपण भने देशमै पहिलो पटक हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७