पूर्वराष्ट्रपतिको सदस्यता ‘अहंकारको विषय’ नबनाउन विन्दाको सुझाव


२०८२ भदौ २२ आइतबार ०७:५७ बजे

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य नेत्री विन्दा पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतालाइ अहंकारको विषय नबनाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् ।

विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन र विधानसम्बन्धी दस्ताबेजमा सुझाव प्रस्तुत गर्दै पाण्डेले भण्डारीको सदस्यता छिटो टुंग्याउन आग्रह गरेकी छन् । भण्डारीलाई सदस्यताबाट वञ्चित गर्न नहुने उनको सुझाव थियो ।

पूर्वराष्ट्रपतिलाई पार्टी सदस्यता दिने÷नदिने विषयमा पार्टी पङ्क्तिभित्र मात्र होइन, समर्थक र आम नागरिकबीच समेत विभाजित मनस्थिति देखिएको औँल्याउँदै, उनले यसलाई अहंकारको विषय नबनाई पार्टी केन्द्रीय सचिवालयले यथाशीघ्र टुङ्ग्याउनु सबै पक्षका लागि हितकर हुने बताइन्। 

उनले प्रतिवेदनमा ‘मार्गनिर्देशक सिद्धान्त – मार्क्सवाद, लेनिनवाद, जबज जिन्दाबाद’ छुटेको भन्दै अनिवार्य समावेश गर्नुपर्नेमा पनि जोड दिएकी छन् ।

साथै २०४३ सालको आम निर्वाचनबारे छुट्टै अध्याय राखिनुपर्ने र २०५२ पछि राप्रपासँग गरिएको गठबन्धनलाई गलत ठहर गर्दै यसले लोकतान्त्रिक मूल्यबाट विचलनको सुरुवात गरेको उल्लेख गर्न उपयुक्त हुने धारणा राखिन्। 

उनले उमेर हद तथा कार्यकालको प्रावधानलाई अभ्यास गर्ने मौका नै नदिई हटाउनु कच्चापन भएको बताइन् । 

महिलाको सङ्ख्या पार्टी सदस्यतामा एकतिहाइ नजिक पुगेको अवस्थालाई मध्यनजर गर्दै, केवल पार्टी कमिटीमा मात्र नभई पदाधिकारी, विभाग, निकायलगायत सबै संरचनामा पनि कम्तीमा एकतिहाइ महिला अनिवार्य हुने प्रावधान स्पष्ट गर्नुपर्ने उनले माग गरिन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७