ओलीले फरक मत प्रस्तुत गर्न नदिएपछि कर्ण थापाले ग्रुपमा बाँडे

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत राख्न दिएनन् ।
जारी विधान महाधिवेशनको दोस्रो दिन आज (शनिबार) विभिन्न प्रतिवेदन उपर छलफल हुँदैछ । नेता थापाले अध्यक्ष ओलीले ल्याएको दस्ताजेजविरुद्ध ३२ पेज लामो फरक मत दर्ज गरेका छन् ।
उक्त फरक मतको दस्तावेजमाथि पनि छलफल गर्ने कार्यसूची थियो । तर, थापाले फरक मत प्रस्तुत गर्न खोज्दा अध्यक्ष ओलीले रोकेका हुन् । आफ्नो मत प्रस्तुत गर्न उठेका थापालाई ओलीले बोल्न दिएनन् ।
समय अभाव भएको र फरक मतमा फरक कुरा पनि खासै केही नभएको भन्दै ओेलीले रोकेको विधान महाधिवेशनमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार ओलीले ‘अहिले हामीसँग समय छैन, ग्रुप डिस्कसनमा जाऊँ’ भन्दै थापालाई फरक मत प्रस्तुत गर्न नदिएका हुन्।
त्यसपछि थापाले ग्रुपहरूमा सो प्रतिवेदन बाँडेका छन् । विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि छलफल गर्न १० वटा ग्रुप बनाइएको छ ।
बिहीबार केन्द्रीय कार्यालयमा दर्ता गराएको थापाको फरक मतमा अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठाइएको छ । साथै, पूर्वराष्ट्रपति एवम् पार्टीका पूर्वउपाध्यक्षस विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्नु गलत भएको जिकीर गरिएको छ ।
थापाले भण्डारीलाई एमालेमा रोक्नु प्रत्युत्पादक हुनसक्ने चेतावनी दिँदै उनलाई ससम्मान पार्टीको जिम्मेवारी दिन माग पनि गरेका छन्। भण्डारीको सदस्यता रोक्नु ओलीको गलत मनसाय भएको थापाको आरोप छ ।
थापाले आफ्नो दस्तावेजमा लेखेका छन्, ‘उहाँ पार्टीको निर्णयको पालना गरेर राष्ट्रपति हुनु भयो । त्यस पदमा रहदा पार्टीको जिम्मेवारीबाट अलग हुनु भयो । फर्केर आएपछि पार्टी सदस्यता नवीकरण गर्नु भयो । सदस्यता नवीकरण गरेको एक वर्ष पछि मात्रै प्रश्न उठाईयो । सदस्यता नविकरण गर्न गएकै दिन प्रश्न किन उठाइएन ? उहाँले राष्ट्रपतिको उम्मेदवार हुने पार्टी निर्णय हुँदाका बखत सदस्यता त्याग्ने र पुनः सदस्यता नलिने भनी निर्णय गरिएको थियो भन्ने कुरा पनि पूर्ण रुपमा असत्य हो । उहाँको सम्मानको लागि सदस्यताबाट बञ्चित गरिएको भन्ने तर्क उहाँमाथि विभिन्न कटु शब्द समेत प्रयोग गरी भएको प्रहारले नै असल मनसायबाट गरिएको भन्ने देखिन्न ।’