संसदमा रास्वपाको नयाँ किर्तिमान

काठमाडौँ : संसद अवरोध र बहिष्कारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ कीर्तिमान बनाएको छ ।
एकै अधिवेशनमा सबैभन्दा लामो समयसम्म अवरोध र बहिष्कारको रेकर्ड यसअघि नेकपा (एमाले) को नाममा थियो । एमालेको रेकर्डलाई रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले भङ्ग गर्दै नयाँ रेकर्ड बनाएका हुन् ।
चालु अधिवेशनको जेठ १३ गतेबाट सुरुको १८ दिनसम्म प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पनि अवरोधमा साथ दिएको थियो । सत्तारूढ दलसँग भएको दुईबुँदे सहमतिपछि जेठ २९ बाट माओवादी केन्द्रले संसदीय काम कारबाहीमा भाग लिएको थियो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गरेर माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतले अवरोध सुरु गरेका थिए । रास्वपा र राप्रपाको बहिष्कार १०१ दिन पुगेको छ ।
संसद्को चालु अधिवेशन वैशाख १२ गतेबाट सुरु भएको हो । जेठ १३ बाट अवरोध गरिरहेको रास्वपाले असार ९ गतेबाट सभामा आफ्ना राखेर बहिष्कार गर्दै आएको छ । राप्रपाले भने सुरुवातदेखि नै बैठक बहिष्कार गरिरहेको छ । यसबिचमा प्रतिनिधि सभाको बैठक सङ्ख्या ६१ पुगेको छ ।