प्रधानमन्त्रीको सचिवालयले नै मानेन सरकारको निर्णय

काठमाडौं : सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले नै प्रतिबन्धको पालन नगरी सामाजिक सञ्जालहरूको निरन्तर प्रयोग गर्दै आएको छ।
प्रधानमन्त्रीको सचिवालयका फेसबुक पेजदेखि ह्वाट्सएप समूहसम्ममा यथावत् सूचना र अपडेटहरू नियमित रूपमा सञ्जाल मार्फत सम्प्रेषित भइरहेका छन्। शुक्रबारदेखि जारी नेकपा एमालेको विधान महाधिवेशनको अपडेट पनि प्रधानमन्त्रीको सचिवालयले फेसबुक र ह्वाट्सएप मार्फत नै प्रदान गर्दै आएको छ।
बिहीबार मात्रै सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले २६ वटा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूको पहुँच बन्द गर्ने निर्णय गरेको थियो। त्यसपछि, इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले ती प्लेटफर्महरूमा प्रतिबन्ध लगाउन थालेका छन्।
तर, सरकार आफैले प्रतिबन्ध लगाइरहेको प्लेटफर्महरूको प्रयोग जारी राख्नुका कारण अहिले चौतर्फी आलोचनाको विषय बनेको छ।