चुनावमा दुई तिहाइ ल्याएर प्रदेशको नाम ‘किरात–लिम्बूवान–कोच’ राख्छौं : प्रचण्ड 

‘कालापानी–लिपुलेकबारे भारतसँग सिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ’


२०८२ भदौ १२ बिहीबार २०:०३ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशको नामकरणमा पार्टीले त्रुटि गरेको स्वीकारेका छन् । उनले अबको चुनावबाट दुई तिहाइ बहुमत ल्याएर नाम फेर्ने उनले दाबी पनि गरे ।

माओवादीको कोशी प्रदेश सचिवालय बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रचण्डले यस्तो दावी गरेका हुन् । संविधान सभामा आरक्षणलगायतका विषयमा भिन्न मत राखेर पनि संविधान पारित गरेको स्मरण गर्दै उनले कोशी प्रदेशको नाममा पनि त्यसैगरी भिन्न मत राखेर दुई तिहाइ बहुमतले गरेको निर्णयलाई स्वीकार गर्नुपर्ने बताए ।

आउँदो निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर प्रदेशको नाम किरात लिम्बूवान र कोच राख्ने प्रचण्डको भनाइ थियो । उनले भने, ‘अहिलेलाई दुई तिहाइले पारित गरेको नामलाई ‘डी फ्याक्टो’ (वास्तविक) रूपमा स्वीकार गरे पनि ‘डी जुरे’ (न्यायिक) रूपमा मान्नु हुँदैन ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको दावी गरेका छन् । विराटनगरमा १ नं प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

अध्यक्ष प्रचण्डले भने, ‘म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरी इतिहासमा पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गराएको हो । यो कुरा तपाईंहरूले पनि बुझ्नु पर्‍यो । तल जनतालाई पनि बुझाउनु पर्‍यो ।’

आफूले प्रधानमन्त्रीको रूपमा भारत भ्रमणको सन्दर्भमा भारतका प्रधानमन्त्रीसँग औपचारिक तथा सार्वजनिक रूपमा कालापानी, लिपुलेक जस्ता सीमा समस्या समाधानका लागि गरेको प्रयासलाई अहिलेको सरकारले अगाडि बढाउनु पर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । 

‘प्रधानमन्त्रीका रूपमा मैले गरेका सकारात्मक काम जनतालाई जानकारी दिनु पार्टीका कार्यकर्ताहरूको जिम्मेवारी हो, हाम्रै साथीहरूले हाम्रै उपलब्धिहरू नबोल्दा विकृति आउँछ भन्ने बुझ्न जरुरी छ ।’

प्रचण्डले पार्टीभित्र आलोचना र आत्मसमीक्षाको आवश्यकतामा जोड दिँदै वैचारिक अराजकता र अनुशासनहीनताले संगठनमा चुनौती उत्पन्न भएको समेत बताए । उनले प्रदेशका नेताहरूले राखेका सुझाव र चिन्ताहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै पार्टीले ठूलाठूला चुनौतीको सामना गर्नुपर्ने हुनसक्ने बताए ।

पार्टी विभाजनपछि पुनः मूलधारमा फर्किएका नेता–कार्यकर्ताहरू अनुभव र आत्मसमीक्षासहित पार्टीमा फर्किएकाले उनीहरुलाई स्वागत गर्न हिच्किचाउन नहुने बताउँदै प्रचण्डले होच्याउने, हेलाँ गर्ने जस्ता काम नगर्न निर्देशन दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७