प्रधानमन्त्रीले भोलि संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् ।
शनिबार चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन् । त्यस्तै बैठकमा प्रमुख सचेतकसँग छलफलका क्रममा संसदको आगामी १५ दिनको क्यालेन्डर तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
जसअनुसार भाद्र १३ गते शुक्रबार बस्ने संसद बैठकले भूमिसम्बन्धी विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने उनले बताए । त्यस्तै भाद्र १८ गते बस्ने बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्ने र राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरि पारित गर्ने सम्भावित कार्यसूची तय भएको बर्तौलाले जानकारी दिए ।
उनले निजामति विधेयक राष्ट्रियसभाबाट आएको खण्डमा भाद्र १९ गते पारित गर्ने तयारी भएको उल्लेख गरे। भाद्र २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय भएको उनको भनाइ छ ।
त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र त्यसपछिका कार्यक्रमका बारेको कार्यतालिका तयार भएको बताए । भाद्र महिनामा १८, १९, २५, २६ र २७ गते प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ ।