मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज थुनामै रहने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई पुर्पक्षमा थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतले सदर गरेको छ ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको हो ।
गत साउन १४ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । राजेश अहिले डिल्लीबजार कारागारमा छन् । युवती बलात्कारको आरोपमा उनी पक्राउ परेका थिए ।
काठमाडौंमा घरायसी कामको सहयोगीका रूपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले बलात्कार गरेको जाहेरी दिएकी थिइन् । काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले २०८१ जेठ ४ मा बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो । एक्लै कोठामा बसेका बेला अहिराजले आएर बलात्कार गरेको मुद्दामा उल्लेख छ ।