एसपी सिलवालविरुद्ध ३५ उजुरी, पाँच छानविन समिति


२०८२ भदौ ११ बुधबार १५:४६ बजे

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाल रकम असुली धन्दालगायतका विभिन्न आरोपमा मुछिएका छन् । सिलवाल राजमार्ग सुरक्षा तथा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख हुन् ।

एसपी सिलवालमाथि जाँचका क्रममा चोरीका सवारी साधनको गैरकानुनी प्रयोग र चालकमाथि अभद्र व्यवहारलगायतका आरोप लागेको हो । एसपी सिलवालविरुद्ध मौखिक तथा लिखित गुनासो आएपछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले छानबिन अगाढि बढाएको छ । प्रदेश प्रमुख डीआईजी उमाप्रसाद चर्तुवेदीले सिलवालमाथि प्रदेश कार्यालयले आन्तरिक छानबिन गरिरहेको जानकारी दिएका छन् ।

डीआईजी चतुर्वेदीले भने, ‘एसपी सिलवालमाथि धेरै व्यक्तिले मौखिक तथा लिखित रुपमै गुनासो गरेपछि छानबिन थालेका छौँ । उहाँमाथि ३५ वटा गम्भीर प्रकृतिका गुनासो आएपछि छानबिन थालेका हौं ।’

सिलवालमाथि छानबिन गर्न प्रदेश कार्यालयले पाँच वटा छुट्टाछुटै समिति बनाएको छ । सिलवालले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका चालकलाई जरिवाना तिराउँदै सवारी छाड्न लगाइ घर पठाउनु पर्नेमा कानुनविपरीत थुनामा राख्ने गरेको खुलेको छ ।

त्यसरी चोरीका सवारी साधन गैरकानुनी प्रयोग गर्ने, अवैध मालसामान बोकेका सवारी साधनलाई आर्थिक प्रभावमा परेर जाँच नगर्ने जस्ता गम्भीर उजुरी उनीविरुद्ध परेको छ। ट्रान्सपोर्ट कम्पनीका ट्रक रोकेर गैरकानुनी तरिकाले रकम असुली गर्ने गरेको गुनासो उनीमाथि छ । 

एसपी सिलवालले भारतीय नम्बर प्लेटका गाडीहरुलाई प्रवेशमा कडाइका नाममा रकम असुली गर्ने गरेको उजुरी आएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  एसपी सिलवाल यसअघि पनि पटक–पटक विवादमा आइरहने प्रहरी अधिकारी हुन् । यसअघि पनि उनीमाथि मिटरब्याजमा रकम लगाउने गरेको आरोप लागेको थियो 
यता एसपी सिलवाल यसअघि जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रमुख समेत थिए ।

एसपी सिलवालले भने आफूमाथि किन समिति बन्यो भन्नेबारे जानकारी नै नभएको बताएका छन् । उनले भने, ‘खै समिति के कति बन्यो मलाई थाहा छैन् । मापसे गरेकालाई थुन्यो भन्ने कुरा सही होइन । होल्ड गरेर छाडिएका हुन् । अन्य कुरामा हाम्रो कमजोरी छैन । के मनसायले समिति बन्यो त्यो त थाहा हुने कुरा भएन ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७