म प्रधानमन्त्री हुँदा सीमा विवाद समाधान गर्न ठोस पहल गरेको थिएँ : प्रचण्ड

मोरङ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र भारतबीच कायम सीमा विवाद समाधान गर्न आफू प्रधानमन्त्री हुँदा ठोस पहल गरेको दावी गरेका छन् ।
बिहीबार विराटगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद समाधानका लागि आफू प्रधानमन्त्री हुँदा नै ठोस पहल सुरु भएको दाबी गरेका हुन् । अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री रहँदा भारत भ्रमणका क्रममा सीमा समस्या समाधान नभएसम्म दुई देशबीचको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा स्पष्ट रूपमा राखेको बताए ।
उनले भने, ‘मैले प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा सीमा समस्या समाधान नगरिकन छिमेकीसँगको सम्बन्ध सुमधुर हुन सक्दैन भन्ने कुरा प्रष्ट रूपमा राखेको थिएँ । त्यसको समाधानका लागि पहल पनि मेरै पालामा सुरु भएको हो ।’
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले वर्तमान सरकारले पनि यो विषयलाई प्राथमिकतामा राखेर संवादको प्रक्रिया अगाडि बढाउनु पर्नेमा जोड दिए । सोही क्रममा उनले संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन र प्रहरी समायोजन ऐन जस्ता महत्वपूर्ण कानुनहरू रोकिएकोमा सरकारको आलोचना गरे ।