आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काको भ्रष्टाचार मुद्दा पेसीमा

काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्धको भ्रष्टाचार मुद्दामा आज (मंगलबार) पेसी तोकिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको हो । खड्काको मुद्दा १२ औं नम्बरमा छ ।
१५ असार २०८० मा विशेष अदालतले खड्कालाई अकूत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको थियो । विशेषको निर्णयलाई चुनौती दिँदै खड्का २२ फागुन २०८१ र नेपाल सरकार १२ चैत २०८०मा सर्वोच्च आएका थिए । दुवै पक्षको पुनरावेदनलाई एकै ठाउँमा राखेर सर्वोच्चले सुनुवाइको पेसी तोकेको हो ।
विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिग्राम संग्रौला डा. खुसीप्रसाद थारुको इजलासले खड्काले गैरकानुनी सम्पत्ति आयआर्जन गरेको ठहर गर्दै १ वर्ष ३ महिना कैदसहित बिगो अनि जरिवाना भराउने फैसला सुनाएको थियो ।
विशेषले ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ ६४ पैसा बिगो र सोहीबमोजिम जरिवाना गराउने भनेको थियो । त्यसैगरी आरोपपत्रमा जफतको दाबी लिइएको खड्काको घरजग्गा, शेयर नगद बैंक मौज्दात सबै जफत गर्ने विशेषको फैसलामा भनिएको थियो ।
खड्काले अकूत आर्जन गरेको सम्पत्ति शर्मिला खड्का र अमिता सोदेम्बाको नाममा लुकाएको ठहर गर्दै ३ कित्ता घरजग्गा जफत हुने ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारका अनुसार खड्काले गैरकानुनी रुपमा कमाएको रकम श्रीमती शर्मिला खड्का, अमिता लामा सोदेम्बाका नाममा लुकाएर राखेको दाबी गरिएको थियो । अख्तियारका अनुसार तेह्रथुमको साबिक जिरीखिम्ती गाविस–२ घर भई बूढानीलकण्ठ–४ बस्ने अमिता लामा सोदेम्बा कृष्णबहादुर लामाकी छोरी तथा दिपक सोदेम्बाकी श्रीमती हुन् ।
खड्काले अवैध रुपमा कमाएको सम्पत्तिमध्ये ७ करोड ५४ लाख ५७ हजार ८७५ रुपैयाँ अमिताको नाममा लुकाएर राखेको अख्तियारले फेला पारेको थियो । अख्तियारका अनुसार लामाका नाममा एनएमबी बैंकमा रहेको खाताबाट खड्काले नै कारोबार गर्ने गरेको खुलेको थियो ।
त्यस्तै खड्काले साबिक गैरकानुनी रुपमा कमाएको रकमबाट तत्कालीन महांकाल गाविस–४ स्थित १९१ मा सीजी डेभलपर्सका नाममा ३ करोड २५ लाख बराबरको घर खरिद गरेको भेटिएको थियो । त्यसैगरी काठमाडौं साबिक विष्णु बूढानिलकण्ठ गाविस–३ मा ६८९, १४८२ र १५२० कित्ता नम्बरको ८ आना जग्गा ४० लाख ११ हजार ८७५ मा खरिद गरेको भेटिएको थियो । खड्काले ८४ लाख ४६ हजारमा टक्सन गाडी खरिद गरेको तथा सीजी डेभलपर्सलाई घर खरिद गर्न ३ करोड ५० लाख भुक्तानी दिएको भेटिएको थियो ।
अख्तियारले गरेको अनुसन्धानमा खड्काले सार्वजनिक सेवा प्रवेश गरेपश्चात् समग्र आयका रुपमा ८ करोड ६४ लाख ६९ हजार ७ सय ७१ रुपैयाँ आर्जन गरेको देखिएको थियो । तर, २०६९ चैत २ देखि अनुसन्धान अवधिसम्ममा खड्काको खर्च तथा लगानी भने २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ फेला परेको थियो । यसरी खड्काको १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न सकेको थिएन ।