बाबुरामको विश्लेषण : २०८४ सम्म देश नयाँ शक्तिको हातमा पुग्छ


२०८२ भदौ १० मंगलबार १२:३९ बजे

काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८४ सम्ममा देश नयाँ र वैकल्पिक शक्तिहरुको हातमा पुग्ने दाबी गरेका छन् ।‘पुराना दलहरू समयअनुकूल रुपान्तरण हुन नसक्दा जनताले नयाँ विकल्प खोजेका छन्,’ उनको भनाइ छ, ‘नयाँ र वैकल्पिक शक्तिहरुबीच सहकार्य र मोर्चाबन्दीमार्फत देशलाई विकल्प दिने बेला आएको छ ।’

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र संविधानका आधारभूत स्तम्भ भएको उल्लेख गर्दै उनले चेतावनी दिएका छन् । ‘यी खाटका चार खुट्टा हुन्, कुनै बहानामा भत्काउन खोजियो भने पनि भत्किँदैन,’ भट्टराईले भने ।

राजनीतिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक सांसद प्रणाली आवश्यक रहेको उनको भनाइ छ । ‘अहिले संसदीय तमासा भइरहेको छ, सरकार बनाउने, गिराउने र उही मान्छे आउने। यसरी देश अघि बढ्दैन’, उनले भनेका छन् ।

देशको अर्थतन्त्र उत्पादनमुखी नबन्दा युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको उल्लेख गर्दै उनले थपे, ‘हामी श्रम निर्यात गरेर रेमिट्यान्समा टिकेका छौँ । यो नै अहिलेको मुख्य समस्या हो ।’ शिक्षा क्षेत्रबारे उनले निजी विद्यालय सञ्चालक र शिक्षक आन्दोलनप्रति असन्तुष्टि जनाए । भट्टराईले भने, ‘संविधानले नागरिकलाई निःशुल्क शिक्षा दिनुपर्ने भनेको छ, तर व्यापारीहरूले ‘शिक्षा व्यापार गर्न पाउनुपर्छ’ भनेर तमासा देखाइरहेका छन् ।’

त्यस्तै, उपसभामुखलाई हटाउने प्रयास र संवैधानिक परिषद् सम्बन्धी विधेयकमा सरकारले ल्याएको प्रावधानलाई उनले विधिको शासनविपरीत बताउँदै भने, ‘६ जना भएको संस्थामा ३ जना उपस्थित भएर २ जनाले मात्रै निर्णय गर्ने प्रावधान हाँस्यास्पद छ ।’

पूर्व राष्ट्रपति र उपराष्ट्रपतिहरू दलीय राजनीतिमा फर्कनु संविधानको मर्म विपरीत भएको टिप्पणी गर्दै भट्टराईले भने, ‘सेरोमोनियल राष्ट्रपति राष्ट्रको अभिभावक हो । एक पटक त्यो जिम्मेवारी सकेपछि फेरि दलगत राजनीतिमा फर्कनु हुँदैन ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७