प्रधानमन्त्रीले भारत–चीन भ्रमणमा लिपुलेकको विषय दृढतापूर्वक उठाउनु पर्छ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य हिस्सा भएको भन्दै यसको रक्षाका लागि सरकारलाई दृढ कदम चाल्न आह्वान गरेको छ । नेपालको संविधान, सुगौली सन्धि (१८१६) लगायत ऐतिहासिक सन्धिहरूले यी क्षेत्रहरू नेपालको सार्वभौम भूमि भएको स्पष्ट पारेको छ ।
हालै भारत र चीनबिच लिपुलेक पास हुँदै परम्परागत सीमा व्यापार मार्ग पुनः खोल्ने सम्झौताप्रति रास्वपाले गम्भीर चासो व्यक्त गरेको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत र चीन भ्रमणमा यी क्षेत्रको मुद्दालाई स्पष्ट र दृढतापूर्वक उठाउन माग गरेको छ । ‘नेपाली भूमिमाथि कुनै पनि देशको गतिविधि वा सम्झौता नेपालको सहमति बिना वैध हुँदैन,’ रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पार्टीले यो विवाद कूटनीतिक र शान्तिपूर्ण तर प्रभावकारी माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । साथै, सरकारलाई आवश्यक सहयोग गर्न रास्वपा तयार रहेको पनि जनाएको छ ।