राज्य व्यवस्था समिति सभापतिबारे निर्णय गर्न देउवाले बोलाए बैठक
राज्य व्यवस्था समितिको सभापतिमा मनोनयन दर्ता आज

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति कसलाई बनाउने भन्नेबारेमा कांग्रेसले अझै निर्णय गर्न सकेको छैन । सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काको मनस्थिति निवर्तमान सभापति खतिवडालाई नै दोहोर्याउने पक्षमा छ ।
तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अधिकांश नेताहरूले खतिवडालाई दोहोर्याउँदा सन्देश राम्रो नजाने भन्दै विकल्पमा जानुपर्ने सुझाव दिइरहेका छन् ।
निजामती विधेयकमा समावेश गरिएको कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न गठित जीवन परियार नेतृत्वको समितिले निवर्तमान सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई मुख्य नैतिक जिम्मेवार ठहर्याएको थियो । त्यस लगत्तै खतिवडाले राजीनामा दिएका थिए ।
उनको विकल्पमा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यसमेत रहेका सांसद दिलेन्द्र बडुको नाम चर्चामा छ । आज दिउँसो १ बजे मनोनयन कार्यक्रम रहेकाले त्यसअघि उम्मेदवार छनोट गर्न कांग्रेस सभापति देउवाले बूढानीलकण्ठस्थित निवासमा पदाधिकारी बैठक बोलाएका छन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार उक्त बैठकबाट नै कसलाई सभापति बनाउने भन्ने नाम टुंगो लाग्नेछ । अहिलेसम्म छलफल मात्रै भएको छ तर कसैको विषयमा पनि टुंगो लागेको अवस्था छैन । नेताहरूबीच जे सहमति हुन्छ त्यहीअनुसार नामको टुंगो लाग्ने उनले बताए ।
राज्य व्यवस्था समितिको सभापतिमा मनोनयन दर्ता आज
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज (मंगलबार) हुँदैछ । समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिन्छ ।
मनोनयन दर्ताको समय आज मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ । राज्य व्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ । तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।