नेपालको कम्युनिष्ट आन्दोलनमा विकृति र विसंगति अझै छन् : माधव नेपाल


२०८२ भदौ ९ सोमबार ११:१९ बजे

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, लोकतान्त्रिक अभ्यासलाई सबल पार्ने र जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

पार्टी गठनको चार वर्ष पूरा भएको अवसरमा आज (सोमबार) शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विश्व कम्युनिष्ट आन्दोलनको मूल उद्देश्य मजदुर, किसान तथा उत्पीडित वर्गलाई सामन्तवाद, पुँजीवाद र साम्राज्यवादविरुद्ध एकजुट गर्दै वर्गविहीन समाज, न्याय, समानता र शोषणमुक्त समाजवादी व्यवस्था स्थापना गर्नु रहेको पनि बताएका हुन् । 

‘पुनर्गठन दिवसको अवसरमा हामी यी सबै उद्देश्य र ऐतिहासिक यात्रालाई स्मरण गर्दै राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, लोकतान्त्रिक अभ्यासलाई सबल पार्ने र जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, अध्यक्ष नेपालले भनेका छन् । 

उनले नेपालको कम्युनिष्ट आन्दोलनले जन्मैदेखि सामन्तवाद, साम्राज्यवाद र निरंकुश शासनविरुद्ध संघर्ष गर्दै राष्ट्रिय स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र जनजीविकाको प्रश्नलाई प्रमुख एजेण्डा बनाउँदै आएको स्मरण गरेका छन् । 

‘यस आन्दोलनले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई आफ्नो आधार मानेर श्रमिक–किसान, दलित, महिला, उत्पीडित तथा अवसरबाट वञ्चित वर्गको मुक्ति र समाजवाद हुँदै वर्गविहीन समाज निर्माण गर्ने लक्ष्य अघि सारेको छ’,नेपालको भनाइ छ । 

उनले नेकपा (एकीकृत समाजवादी) दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवाद, स्वेच्छाचारिता, कार्यकर्ताबीचको विभेद र अधिकारको केन्द्रीकरण जस्ता विकृतिविरुद्ध विद्रोह मार्फत गठन भएको भन्दै यसले स्थापनाकालमै कम्युनिस्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गर्दै आन्दोलनलाई शुद्धीकरण, एकीकरण र सशक्तिकरण गर्ने ऐतिहासिक जिम्मेवारी लिएको दाबी पनि गरेका छन् ।

पार्टीले सदैव जनताको पक्षमा अडिग रहँदै समाजवाद उन्मुख लोकतन्त्रलाई मजबुत पार्ने, समतामूलक समाज निर्माण गर्ने र गरिब, किसान तथा उत्पीडित वर्गको अधिकारलाई संस्थागत गर्ने सङ्कल्प बोके पनि नेपालको कम्युनिस्ट आन्दोलनमा अनेकौँ विकृति र विसङ्गति विद्यमान रहेको नेपालले स्वीकार गरेका छन् । 

‘जसका विरुद्ध केवल नेता–कार्यकर्तालाई मात्र होइन, व्यापक जनतालाई समेत सचेत एवम् गोलबन्द गर्दै आन्दोलनलाई अझ प्रगतिशील, जनमुखी र एकीकृत बनाउने दृढ अठोटका साथ समाज रूपान्तरणको बाटोमा अघि बढ्नुपर्ने ऐतिहासिक आवश्यकता रहेको छ’, नेपालको भनाइ छ । 

अध्यक्ष नेपालले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समेत नेपालकै भूभागहरू कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि  सार्वभौमिकतामा आँच पुग्ने गरी भारत र चीनबीच समझदारी भएको विषय सञ्चार माध्यममा आएको भन्दै यस्तो बेला मुलुकको सार्वभौमिकता र भूगोलको रक्षाको निम्ति आवश्यक सबैखाले पहलकदमी लिन सरकार लगायत सम्बन्धित सबै पक्षलाई व्यापक दबाब दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७