पोखरा ग्रेट ट्रेल : अन्तिम चरणमा पर्यटकीय पदमार्ग निर्माण


२०८२ भदौ ९ सोमबार ०७:०६ बजे

कास्की । पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाले आगामी माघ महिनाभित्रमा यो पदमार्गको निर्माण पूरा हुने बताए ।

उक्त ट्रेलमा करिब चार हजार ५०० सिढीमध्ये अब केही मात्र निर्माण बाँकी छ । कालिखोलादेखि काहुकोटसम्म एक किमी ८०० मिटरको पदमार्ग निर्माण विसं २०८० वैशाखदेखि सुरु गरिएको थियो । यसका लागि महानगरले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।  

पोखरा महानगर प्रमुख धनराज आचार्यले मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको यो ट्रेल पर्यटकीय दृष्टिले महत्वपूर्ण र आकर्षक रहेको बताए । उनले फुट ट्रयाकका लागि चालु आवमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।  

‘पर्यटकीय राजधानी पोखरामा बिहान र साँझको समयमा हिँड्न रमाउनेका लागि यो एक उपयुक्त थलोका रूपमा विकास हुने विश्वास गरेका छौं । स्थानीय विशेषता झल्कने र पहिचानसहितको अग्र्यानिक पदमार्ग भनेका छौ, यो पदमार्गमा यात्राका क्रममा अग्र्यानिक उत्पादनको स्वाद लिन सकिनेछ,’ नगर प्रमुख आचार्यले भने ।  

निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतले पदमार्गमा ढुङ्गा काटेर बिछ्याइएको बताए । पदमार्गका विभिन्न चार स्थानमा विश्राम स्थल हुनेछन् भने १० स्थानमा ‘भ्युपोइन्ट’ निर्माण हुनेछ । पदमार्ग १० फिट चौडाइको हुने र बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने बस्नेतले बताए ।  

पोखराको प्राकृतिक ‘भ्युपोइन्ट’ का रूपमा रहेको काहुकोटको पर्यटन विकास र प्रवद्र्धनमा पदमार्ग निर्माणले सहयोग पुग्ने आशा गरिएको छ । ‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियान अन्तर्गत आइतबार सो ट्रेलको दायाँ-बायाँ करिब ४०० फलफूलका बिरुवा रोपिएको छ ।  

पोखरा महानगरको दुई लाख २६ हजार बिरुवा लगाउने ‘मेगा’ अभियान अन्तर्गत सो क्षेत्रमा आरु, आरुबखडा, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँसलगायतका बिरुवा रोपिएका छन् । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७