संसदका दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा भूमि विधेयक पेस हुँदै


२०८२ भदौ ६ शुक्रबार ०६:४० बजे

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची तय गरिएको संघीइ संसद् सचिवालयले तय गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२ पेस गर्नेछन् ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

राष्ट्रियसभाको बैठक १२ः१५ बजे बस्दैछ । आजको बैठकमा गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । 

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्रीप्रसाद पाण्डेले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

गृहमन्त्री रमेश लेखकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सो प्रस्तावमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७