रास्वपाको प्रश्न : उपसभामुखमाथि छानबिन गर भन्दा पहिले नगर्ने, अहिले हतियार बनाउने ?
‘पुराना दलले सधैँ बलिदान र संघर्षको हिसाब मात्रै माग्ने हो ?’

काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ वैकल्पिक शक्तिलाई सिध्याउने नीति अनुसार अहिले उपसभामुख इन्दिरा राना मगरमाथि अंक गणितको खेल खेलिएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको विशेष समयमा बोल्दै रास्वपा सांसद शिव नेपालीले यसअघि रवि लामिछानेमाथि र अहिले उपसभामुख रानामगरमाथि खेल खेलिएको बताए ।
‘नयाँ वैकल्पिक शक्तिलाई सिध्याउने खेलमा सरकारले रवि लामिछानेमाथि अन्याय गर्यो । अब आदिवासी जनजाति समुदायकी छोरी उपसभामुखमाथि अंक गणीतीय खेल खेल्दैछ,’ उनले भने । उनले संवैधानिक निकायहरूको चर्चा चलेको बेला बदनीयतपूर्ण तरिकाले उपसभामुखलाई हटाउन खोजिएको चर्चा चलेको बताए ।
‘एउटै कार्यक्रममा अन्तर्वार्ताको मिति मिलाइ दिनुस् भनिएको सामान्य पत्र थियो । पत्र काहिँकतै दर्ता भएको छैन, कार्यान्वयन पनि भएको छैन । भिसाको सिफारिस पनि छैन,’ उनले भने, ‘तर त्यसलाई १७ महिना लुकाएर साउन २०८१ मा बदनीयतपूर्वक सार्वजनिक गरियो ।’
उनले गलत भए त्यतिबेलै किन कारबाही गरिएन भन्दै सत्ता पक्षलाई प्रश्न गरेका छन् । ‘किनकी त्यतिबेला संवैधानिक निकायहरूको चर्चा थिएन । अहिले किन राजनीतिक हतियार बनाइयो । यो हाम्रो प्रश्न हो,’ उनले भने, ‘यो विषयमा गत साउन ६ गते नै विज्ञप्ती जारी गरेर स्वतन्त्र छानबिन समिति बनाउनुहोस् हामी सहयोग गर्छौं भनेका थियौं । तर छानबिन किन भएन, यस्तो गरिमामय पदलाई बारम्बार खेलाउना बनाउन कसरी मिल्छ ? पदमाथि पटक–पटक प्रश्न उठाउनु अनुचित छ । यो राजनीतिक खेल बन्द गरियोस् ।’
उनले पुराना दलहरूमा वलिदान र संघर्षको हिसाब माग्दै इतिहास तोडमोड गर्ने प्रवृित्त रहेको बताए । ‘नागरिकको अधिकारका लागि हाम्रो पुस्ताले पनि सडकमा उभिएर संघर्ष गरेको छ र अझै गर्नेछ। त्यसलाई सानो देखाउने अधिकार छैन,’ उनले भने ।