निजी विद्यालयलाई गैरनाफामूलक बनाउँदा शिक्षाको स्तर झन खस्किन्छ : सांसद जैसवाल
‘निजी विद्यालयले नाफा नकमाए अन्तर्राष्ट्रियस्तरको शिक्षा कसरी दिन सक्छ ?’

काठमाडौं । प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने कुराले नेपालमा शिक्षाको स्तर झनै खस्किने बताएकी छन् ।
आज (बिहीबार) सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले कम्पनी कानुनअनुसार सञ्चालन भइरहेका विद्यालयलाई गैरनाफामूलक बनाउन नसकिने बताएकी हुन् ।
‘निजी स्कुलहरुले लगानी गरेर, लोन लिएर, जग्गा बेचेर एउटा व्यवसायको तवरमा लगिरहेको छ भने त्यसको पार्ट अफ द प्रफिट त आउनु पर्यो । नत्र सञ्चालन कसरी गर्ने ?,’ उनले भनिन् । उनले निजी विद्यालयहरुले नाफा नै नकमाउने हो भने अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन नसक्ने जिकिर पनि गरिन् ।
‘अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन त्यसअनुसारकै भौतिक संरचना, पाठ्यक्रमहरू हुनुपर्छ । नाफा कमाएनन् भने त्यसस्तरको शिक्षा दिन पनि गाह्रो हुन्छ,’ उनले भनिन् । सांसद जैसवालले शिक्षा सेवामुलक मात्रै हुनुपर्ने भन्ने कुरा सही नभएको बताएकी छन् ।