मितेरी सहकारी ठगी : मुख्य योजनाकार ज्योति गुरुङ, आठ जनाविरुद्ध मुद्दा


२०८२ भदौ १ आइतबार २१:५३ बजे

काठमाडौं । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी तत्कालीन पत्नी ज्योति गुरुङसहित आठ जनाविरुद्ध १७ करोड ७२ लाख ७ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब १० महिना लगाएर गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी विकल कार्यालयले आइतबार जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

सहकारीको बचत ठगी प्रकरणमा ज्योतिबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारी, कुम्भराज गुरुङ, विजयकुमार राई, प्रतम अधिकारी र अर्जुन अरामलाई प्रतिवादी बनाइएको छ । कुम्भराज सहकारीका अध्यक्ष र राई लेखापाल हुन् ।

‘प्रतिवादी ज्योति गुरुङले सहकारी संस्थाको जम्मा ठगी गरेको रकमको निजले फिर्ता गर्नुपर्ने साँवा, ब्याजसहित हुन आउने १४ करोड २९ लाख २४ हजार ७५४ र ज्योतिबहादुर भण्डारी समेतसँग मिलेमतो गरी स्क्याममा पारी ठगी गरेको बैंक खातामा जम्मा भएको ३ करोड ३७ लाख ४९ हजार ६२० रुपैयाँ, मेनुका केसीले कुम्भराज गुरुङबाट नगदै लिएको ४ लाख ५० हजार र हर्कबहादुर बुढाथोकीले लिनुपर्ने रकम कृपेश घिमिरेले कृष्णबहादुर रानाबाट नगदै लिएको ८२ हजार ८०० गरी ज्योति गुरुङ समेतले स्क्याममा पारी ठगी गरेको जम्मा ३ करोड ४२ लाख ८२ हजार ४२० रुपैयाँ गरी जम्मा ठगी भएको रकम १७ करोड ७२ लाख ७ हजार १७४ रुपैयाँ देखिएको,’ अभियोगपत्रमा भनिएको छ ।

सहकारीको रकम ठगी भएको भन्दै एक वर्षअघि कुम्भराज आफैं सीआईबी र सहकारीको बचत हिनामिनाबारे छानबिनका लागि गठित संसदीय विशेष समितिमा पुगेका थिए ।

मुद्दा दायर गरिएकामध्ये ज्योतिबहादुर, सुवास खत्री र सुरेश प्रहरी हिरासतमा रहेकामा अरु पाँच जना फरार छन् । प्रहरीका अनुसार सहकारी अध्यक्ष ८२ वर्षिय कुम्भराज पनि फरार सूचीमा छन् ।

मितेरी सहकारीको बचत ठगीमा धनराजकी तत्कालीन पत्नी ज्योतिलाई नै मुख्य दोषी देखाइएको छ । ज्योति २०६७ जेठ २ देखि सहकारीमा कार्यरत थिइन् । सुरुमा सहायकस्तरमा नियुक्त भएकी ज्योति २०५७ साउन २५ गते अकाउन्टेण्ट, २०७० वैशाख ४ गते सिनियर एकाउन्टेण्ट र २०७५ वैशाख ४ गते महाप्रबन्धक पदमा बढुवा भएकी थिइन् ।

‘प्रतिवादी ज्योति गुरुङले सहकारी संस्थाको सम्पूर्ण आर्थिक कारोबारको जिम्मेवारी पाएकामा आफूलाई प्राप्त अख्तियारीको दुरुपयोग गरी सहकारी संस्थामा बचतकर्ताहरुले निजलाई विश्वास गरी जम्मा गर्न दिएको बचत रकम व्यक्तिगत प्रयोजनको लागि अपचलन गरी रकम ठगी गरेको,’ आइतबार दायर अभियोगपत्रमा भनिएको छ । 

ज्योतिले सहकारीका बचतकर्ताले जम्मा गर्न दिएको रकम आफैं बुझेर सहकारीको खातामा जम्मा नगरेको तथा सहकारीको सिस्टममा नजनाइ क्तिगत प्रयोजनको लागि अपचलन गरेको कुरा खुल्न आएको अभियोगपत्रमा उल्लेख छ। सहकारी संस्थाको अभिलेख राख्न प्रयोग गरिएको युनिक सफ्टवेयर महाप्रबन्धक ज्योति र लेखापाल विजयकुमार राईले मात्र चलाउने गरेका थिए ।

ज्योतिले सहकारीबाट अपचलन गरेको रकम नेपालबाट हुण्डीमार्फत थाईल्याण्ड, सिंगापुर लगायत देशमा पठाउने गरेको खुलेको छ । उनले भरत गुरुङ, सुरेश अधिकारी, सुवास कार्की, राकेश भन्ने भारतीय नागरिक र मामा भन्ने व्यक्तिमार्फत हुण्डीबाट पैसा पठाएको खुलेको हो ।

उनी हाल अमेरिकामा छिन् । उनले सहकारीको र अन्य साथीहरुको पैसा क्रिप्टोमा लगानी गरेको र लगानी उठ्न नसकी पैसा डुबेकोले कारोबार बिग्रिएको हुँदा नेपाल छोडेर अमेरिका जान लागेको कुरा ज्योतिले आफूलाई ह्वाट्स एपमार्फत भनेको बयान ज्योतिबहादुर भण्डारीले दिएका छन् ।

ज्योतिले महाप्रबन्धकको रुपमा कार्यरत रहँदा २०७५ देखि २०७७ सम्म सहकारीको रकम सुरेश अधिकारी, सुवास खत्री, अर्जुन आदम, सरोज भाई भन्ने व्यक्ति र राजकिशोर मामा भन्ने व्यक्तिलाई भेटेर नगदै दिन वा बैंक खातामा जम्मा गरिदिनु भनि अह्राउने गरेको बयान सहकारीका क्लर्क लक्ष्मण दुराले दिएका छन् ।

प्रतिवादी सुवास खत्रीका अनुसार ज्योतिले ज्योतिबहादुर भण्डारीसँग मिलेर थाईल्याण्डमा सिपिङ कम्पनी चलाएकी थिइन् । उनी बेला बेला थाइल्याण्ड गएको बयान पनि अन्य प्रतिवादीले दिएका छन् । धनराजले ज्योतिसँग आफ्नो सम्बन्ध विच्छेद भइसकेको र सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नदेखिएको भनेका आधारमा उनलाई प्रतिवादी बनाइएको छैन । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७