भागबण्डामा चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
एमालेलाई पाटन र पोखरा, कांग्रेसलाई बीपी र कर्णाली

काठमाडौं । सरकारले विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ । कुलपतिको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उपकुलपति नियुक्त गरेका हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा प्राडा विक्रमप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । यस्तै, पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल नियुक्त भएका छन् भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्राडा भरतबहादुर खत्री नियुक्त भएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा. पुजनकुमार रोकाया नियुक्त भएका छन् । उपकुलपतिको पदावधि चार वर्ष हुन्छ । प्रधानमन्त्री ओलीले उपकुलपति सिफारिस गर्न सहकुलपति अर्थात् स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेका थिए ।
पोखराका उपकुलपति डा. भरत खत्रीले नियुक्ति पत्र बुझेका छन्, अन्य तीन जनालाई भने भोलि (बुधबार) बिहान बोलाइएको छ ।
सत्तारूढ नेकपा एमालेले पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान आफ्नो भागमा पारेको छ भने नेपाली कांग्रेसको भागमा बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परेको छ । कांग्रेसको भागमा परेको बीपी प्रतिष्ठान धरानको उपकुलपतिमा प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ नियुक्त भएका हुन् ।
पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल नियुक्त भएका छन् । बाथरोग विशेषज्ञ डा. पौडेल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । पोखरा स्वास्थ्य प्रतिष्ठानको जिम्मेवारी प्रा.डा भरत बहादुर खत्रीले पाएका छन् । एमाले निकट खत्री हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक तथा निमित्त उपकुलपति हुन् ।