कुलमान बाहिरिएसँगै ओरालो लाग्यो प्राधिकरण

काठमाडौं : कुलमान घिसिङ बाहिरिएसँगै नेपाल विद्युत् प्राधिकरण ओरालो लागेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/ ८२ मा नाफा घटेको छ ।
गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले ९ अर्ब ६ करोड नाफा कमाएको थियो । अघिल्लो आवमा प्राधिकरणले १३ अर्ब ३१ करोड नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा प्राधिकरणको नाफा घटेको हो ।
प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कर अघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा झरेको जानकारी दिए। उनले भने, ‘अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब ५ अर्ब जति नाफा घटेको छ । यो बक्यौता उठ्दैन भन्ने होइन । तर, उठ्न बाँकी रहेको बक्यौता नाफामा जोडिएको छैन । विदेशी मुन्द्राको मूल्य वृद्धि भएको कारण पनि गत आवको नाफा घटेको हो । प्रशासनिक खर्च पनि वृद्धि भएको छ । चालु आवमा करिब १५ अर्ब जति नाफा कमाउन सकिन्छ होला ।’
प्राधिकरणले निर्यातसहित विद्युत् बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.४६ प्रतिशत बढी हो। अन्य स्रोतबाट प्राप्त आम्दानीसहित २०८१/८२ मा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड र खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ भएको शाक्यले बताए।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको प्रणालीमा ४३४ मेगावाट विद्युत् थपिएको छ । जसमा निजी क्षेत्रबाट २८० मेगावाट विद्युत् उत्पादन थप भएको हो ।