नेकपा एसको युवामा समानान्तर कमिटी : सञ्जीव राई अध्यक्ष, झलनाथ खनालको छोरा निर्भिक उपाध्यक्ष

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को युवा संगठनमा पनि समानान्तर कमिटी बनेको छ । सञ्जीव राई अध्यक्ष रहेको युवा संघ नेपालको समानान्तर कमिटी घोषणा गरिएको छ । संस्थापनको निर्णय सच्याउन राई समूहले २४ घण्टे अल्टिमेटम दिएको थियो ।
तर युवा संघका इन्चार्ज लक्ष्मण केसीले २७ साउनमा जारी सर्कुलर नसच्चिएको भन्दै राई अध्यक्ष रहनेगरी नवौं महाधिवेशन आयोजक कमिटी घोषणा भएको हो ।
केसीले जारी गरेको सर्कुलरमा राई सह–संयोजक र रोसन थापा संयोजक थिए । केसी अध्यक्ष माधवकुमार नेपाल पक्षका हुन् भने राई सम्मानित नेता झलनाथ खनाल पक्षका हुन् ।
उपाध्यक्षमा निर्भिक खनाल छन् । उनी सम्मानित नेता झलनाथ खनालका छोरा हुन् ।