मेला उदघाटन गर्न गएका मेयरमाथि ढुङ्गामुढा, दुई प्रहरीसहित पाँच जना घाइते


२०८२ श्रावण ३१ शनिबार १९:३८ बजे

रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख (मेयर) माथि आक्रमण भएको छ । आज (शनिबार) कृष्ण जन्माष्टमीका अवसरमा आयोजित मेला उदघाटन गर्न गएका मेयर प्रेमलाल साहमाथि ढुङ्गमुढा भएको हो । 

नगरपालिकाको वडा नं. ९ धरहरिमा अघिल्लो वर्ष कृष्ण मन्दिर निर्माण भएको थियो । सोही मन्दिर परिसरमा लागेको मेलामा मेयर साह पुगेका थिए ।

मेला समितिले मेयरलाई स्वागत गरेर मञ्चमा लैजाँदै गर्दा भिडबाट होहल्ला भएको थियो। होहल्लाकै बीचमा आफूले मेला उद्घाटन नगर्ने भन्दै मञ्चबाट तल ओर्लिरहेका मेयरमाथि अन्धाधुन्ध ढुङ्गा र इँटाले आक्रमण भएको थियो ।

मेयर साहमाथि स्थानीय राम प्रवेश साह नेतृत्वमा रहेको समूहले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ढुङ्गामुढाबाट दुई जना वरिष्ठ प्रहरी हवल्दारका साथै दुई सर्वसाधारण पनि घाइते भएका छन् ।

वरिष्ठ हवल्दारद्वय जगदीश यादव र धन सुन्दर ठाकुरको उपचार गरुडास्थित बेटर नेपाल मल्टी स्पेसलिटी अस्पतालमा भइरहेको छ । आक्रमणबाट मेयर साहको टाउकामा गम्भीर चोट लागेको छ ।

उनको टाउकोमा १६ वटा टाँका लागेको जनाइएको छ । मेयर साहको अवस्था गम्भीर रहेकाले वीरगञ्ज पठाइएको छ । आक्रमण गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७