नख्खु कारागार पसिरमा जम्मा हुँदै रवि समर्थक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही कारागार भैरहवाबाट ललितपुरको नख्खु कारागार ल्याइने भएपछि कारागार परिसरमा कार्यकर्ता र समर्थकको भीड बढेको छ ।
कारागार परिसर क्षेत्रमा रविका शुभेच्छुक, स्थानीयबासी र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिन्छ । रविलाई कारागार सरुवा गरेर ल्याउनका लागि रुपन्देही कारागारबाट विमानस्थल लगिसकिएको छ ।
उनलाई गौतमबुद्ध विमानस्थलबाट बुद्ध एअरको जहाजमार्फत काठमाडौं ल्याइँदैछ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनलाई कारागार व्यवस्थापन विभागको निर्णय अनुसार आज नख्खु ल्याउन लागिएको हो ।
उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो । कारागार सरुवा रोकेपछि रास्वपा ले संसदमै विरोध जनाएको थियो । रवि पत्नी निकिता पौडेलले अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थासम्म पुग्ने बताएकी थिइन् ।
यस्तै मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको र बसाई असहज भएको बताएपछि सरकारमाथि दबाब परेको थियो ।
सोही अनुसार लामिछानेलाई काठमाडौं सार्न तयार भएको हो । रविलाई कारागार स्थानान्तरण गर्ने भएपछि भैरहवा कारागार अगाडि रास्वपा नेता कार्यकर्ताको भीड लागेको थियो । उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।