टेपकाण्ड आइरहन्छन्, गिरफ्तार हुँदैनन् : राजेन्द्र श्रेष्ठ


२०८२ श्रावण १७ शनिबार १४:२७ बजे

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा पार्टी प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचार उन्मूलन गर्न जरुरी रहेकामा उनले जोड दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै भ्रष्टाचारीको अनुहारै हेर्दिनँ भन्ने गरे पनि त्यसानुसार काम अघि बढ्न नसकेको टिप्पणी गरे ।

भ्रष्टाचार बढ्नुको मुख्य कारण प्रत्यक्ष निर्वाचन प्रणाली रहेको उनले बताए । करोडौं पैसा खर्च गरेर निर्वाचन जित्ने र मन्त्री, मुख्यमन्त्री, सांसद, पालिका प्रमुख, वडाध्यक्ष भएर असुल्ने प्रवृत्तिका कारण भ्रष्टाचार मौलाइरहेको उनको भनाइ थियो ।

मन्त्रीहरूले नीतिगत निर्णयमा हस्ताक्षर गर्ने कारण पनि भ्रष्टाचार बढेको उनको निष्कर्ष छ । ‘नेताहरू जो आदेश दिन्छन् र त्यसबाट पैसा कमाउँछ, कहिले ७० करोड हान्दिएको छु भन्छ, कहिले के भनिरहेको छ’, उनले भने, ‘कति टेपकाण्डहरू भइरहेको हुन्छ, उनीहरू गिरफ्तार हुँदैनन् । जसले निर्णय गर्दछ, उसले नै जवाफदेहिता लिने हो भने नेताहरूले त्यस्तो गलत आदेश दिँदैनन् । यी कुराहरू सच्याएर जानुपर्छ ।’

अध्यक्ष श्रेष्ठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीतर्फ संकेत गर्दै हाल फलानो राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्नेमा बहस भइरहेको बताए । एउटा नेता परिवर्तन हुने विषयले खासै फरक नपार्ने तर एजेन्डा लिएर अघि बढ्दा राम्रो हुने उनले उल्लेख गरे । वर्तमान संसदीय व्यवस्थाअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नमिल्ने उनले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७