‘देउवाजी सत्ता गठबन्धन दल बाहेकका नेतासँग भेट्नै हुँदैन जस्तो गर्नु हुन्छ’

विराटनगर । सत्ता साझेदार नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको अभिभावक हुन सुझाव दिएका छन् ।
नेपाली कांग्रेस विराटनगर–४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अरू पार्टीका नेतालाई घरमै बोलाएर चिया ख्वाउन र देशमा देखिएका समस्याबारे छलफल गर्न देउवालाई सुझाव दिए ।
‘देउवाजी जतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन । उहाँले त सबै दलका नेतालाई घरमै चिया खान बोलाएर देश विकासका बारेमा छलफल गर्दा राम्रो हुन्छ भन्ने मेरो सुझाव हो,’ उनले भने, ‘तर उहाँ सत्ता गठबन्धन बाहेकका दल नेतासँग भेट्नै हुँदैन भन्ने जस्तो गर्नु हुन्छ । नेता भएपछि सबैसँग भेट्नु पर्छ । सबैलाई भेट्ने मेरो आदत छ । त्यही भएर मैले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजीलगायतसँग भेट गरेको हुँ । विगतमा ओलीजी सत्ता बाहिर हुँदा पनि मैले भेटेकै हुँ ।’
युवालाई पार्टीमा नजोडे कांग्रेस कमजोर हुने पनि उनले बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनले बताए । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने बताए । लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउनु पर्नेमा जोड दिए ।
उनले कांग्रेस कमजोर भएमा लोकतन्त्र र देश नै कमजोर हुने धारणा राखे । ‘लोकतन्त्रको पर्यावाची नै कांग्रेस हो । यदि कांग्रेस कमजोर भयो भने लोकतन्त्र मात्रै होइन देश नै कमजोर हुन्छ,’ प्रतिनिधिसभा सदस्य समेत रहेका कोइरालाले भने, ‘कांग्रेसलाई बलियो बनाउन कांग्रेसलाई युवा माझ लिएर जानुपर्छ । कांग्रेसप्रति युवाको आकर्षण बढाउनु पर्छ । लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरुरी छ ।’
पार्टीको आन्तरिक प्रतिस्पर्धाको इगोका कारण स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसलाई हराउन कांग्रेस नै लाग्ने गरेको उनले बताएका छन् । कांग्रेसले कांग्रेसलाई भोट दिने हो भने कुनै पनि निर्वाचनमा कांग्रेसले नहार्ने कोइरालाले प्रस्ट्याए ।
‘म पार्टीको कामले धेरैजसो म जिल्लाहरुमै हुन्छु । जिल्ला पुग्दा जता पनि कांग्रेस मात्रै देख्छु,’ उनले थपे, ‘तर मलाई अचम्म लाग्छ, संगठन र क्रियाशील सदस्यका हिसाबले बलियो भएको वडादेखि संसदीय निर्वाचन क्षेत्रमै कांग्रेस हारिरहेको हुन्छ । यो सबै कांग्रेसले कांग्रेसलाई भोट नदिएकै कारणले हो ।’
जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुने बताउँदै नेता कोइरालाले तर एमाले र अन्य पार्टीहरुसँगको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए ।
‘पार्टीको चुनावमा त्यसले मलाई हराएको थियो, त्यसलाई यही बेला हो हराउने भनेर स्थानीय, प्रदेश र संघको निर्वाचनमा रिस फेर्ने प्रवृत्ति छ,’ कोइरालाले भने, ‘यसले कांग्रेसलाई नै घाटा भइरहेको छ । अहिले अरू पार्टीले जितेका स्थानीय, प्रदेश र संघमा कांग्रेस भएको भए त्यहाँ कांग्रेसलाई नै फाइदा हुन्थ्यो । समस्या लिएर जाँदा उसले कुरा सुन्थ्यो । अरू पार्टीले जितेको कतिपय ठाउँमा म आफूले नै ह्युमिसेसन महसुस गरेको छु ।’