भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी

सप्तरी । समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।
सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई आज (बुधबार) उद्घाटन गर्दै अध्यक्ष यादवले भने, ‘वर्तमान सरकारले मधेश विरोधी भूमि विधेयक जबरजस्ती लाद्न खोजिए मधेशी जनता आफ्नो अस्तित्व र पहिचान रक्षाका लागि जनविद्रोह गर्न बाध्य हुनेछन् ।’
वन विनाश, चुरे उत्खनन तथा पहाडका बासिन्दालाई मधेशमा भू–माफियाहरूलाई अवैध बसोबास गराउन सरकार षड्यन्त्रमा लागेकाले जनतालाई सचेत रहन उनले आग्रह गरे ।
सरकारको गलत नीतिका कारण मधेश मरुभूमिकरणतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले मधेशमा पानीको हाहाकार रहेको तथा अन्नदाता नै संकटमा परेकोले बजेट संशोधन गरी वर्तमान समस्या समाधान गर्न आग्रह गरेका छन्।
पानीको जलस्तर घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै जसपा अध्यक्ष यादवले भने, ‘जमिनको सतहमा पानी कायम राख्नुको मूल आधार नै चुरे हो, बसोबासको नाममा वन फँडानी गरी बसोबास चुरेको संरक्षण नगरिए मधेशको भूमि मरुभूमि हुनेछ ।’
जनसंख्याको आधारमा बजेट ल्याउन माग गर्दै उनले भने, ‘४० प्रतिशत जनसंख्यालाई ८९ प्रतिशत र मधेशको ६० प्रतिशत जनतालाई मात्र ११ प्रतिशत बजेट विनियोजन गरिन्छ, यो भन्दा ठुलो विभेद के हुन सक्छ ।’
जबरजस्ती लादिएको संविधानले देशको हित नहुने भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले गलत संविधानकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र जस्तो शासन व्यवस्था पनि बदनाम भएको दाबी गरे ।
संसद खरिद बिक्री, योजना बिक्री तथा कमिसनको खेल हुने गरेको चर्चा गर्दै संविधान संशोधन वा पुनर्लेखन गरेर जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, निर्वाचन प्रणाली, जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरू राख्नुपर्नेमा उनले जोड दिए ।
प्रदेशलाई अझै पनि अधिकार नदिएका कारण अपेक्षा अनुसार जनताको काम गर्न नसकेको बताउँदै जसपा अध्यक्ष यादवले भने, ‘प्रदेश सरकारलाई न त अधिकार दिएको छ, न पुलिस छ न कर्मचारी, प्रदेशहरूलाई अधिकारविहीन बनाइएको छ ।’