अध्यक्ष र सीइओकै सहमतिमा कर्णाली विकास बैंकको सवा तीन अर्ब अपचलन
१०९ जनाविरूद्ध मुद्दा, १२ बर्ष कैद र सम्पति जफतको माग

बाँके । जिल्ला सरकारी वकिल कार्यालय बाँकेले तीन अर्ब २० करोड रूपैयाँ अपचलन गरी बैकिङ कसुर गरेको अभियोगमा कर्णाली विकास बैंक नेपालगञ्जका सञ्चालक र ऋणीहरूसहित १०९ जनाविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ ।
कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित १०९ जनाविरूद्ध उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा बुधबार मुद्दा दायर भएको हो । सबैभन्दा धेरै संस्थापक अध्यक्ष रायले २ अर्ब ६३ करोड ३२ लाख रूपैयाँ अपचलन गरेको अभियोग लगाइएको छ ।
दोस्रोमा बैंकका विभागीय प्रमुख दिनेशकुमार रावतले १ अर्ब ६२ करोड २० लाख रूपैयाँ र तेस्रोमा प्रमुख कार्यकारी अधिकृत निरजविक्रम शाहले १ अर्ब २९ करोड ३३ लाख रूपैयाँ अपचाल गरेको अभियोग छ ।
सञ्चालकमध्येकै एमाले नेता पशुपतिदयाल मिश्रले ८८ करोड बढी अपचलन गरेको देखिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । बैंकमा भएको अपचलनको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो–सीआइबीले छानबिन गरेको प्रतिवेदन सरकारी वकिल कार्याललाई बुझाएलगत्तै मुद्दा दर्ता भएको हो ।
सीआइबीले बैकिङ कसुरमा १११ जना माथि छानबिन गरेको थियो । सीआइबीले हालसम्म चार जनालाई पक्राउ गरेको छ । मुद्दा चलाइएकामध्ये बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्व अध्यक्ष तथा सञ्चालक पशुपतिदयाल मिश्र, वित्त प्रमुख वेदप्रकाशसिंह ठकुरी र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत पक्राउ परेका छन् ।
अभियोग लगाइएकामध्ये दुई जनाको मृत्यु भइसकेको र उनीहरूको संलग्नताको कागजात फेला नपरेकाले मुद्दा नचलाइएको जिल्ला सरकारी वकिल कार्यालय बाँकेले जनाएको छ । मुद्दा चलाइएकामध्ये अधिकांश ऋणीहरू छन् ।
कर्णाली विकास बैंकको अन्य बैंकमा रहेको खाताहरूबाट रकम निकालेर त्यो रकम बैंकमा नल्याई व्यक्तिगत रूपमा प्रयोग गर्ने र सिस्टममा सो रकम अभिलेख नगर्ने, भल्टबाट निकालिएको पैसा नगदै लिने, सो बापत खातामा पैसा नभएको डमी चेकहरू दिने र त्यो कुरा सिस्टममा अभिलेख नगर्ने गरेको पाइएको छ ।
अन्य बैंक खाताहरूमा जम्मा गर्न लगिएको रकम जम्मा नगरी आफूलाई चाहिएको बखत चलाउने तर बैंकको सिस्टममा रकम जम्मा गरिएको भनी जनाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
लेजर मौज्दातमा बढी रकम उल्लेख गर्ने गरिएको थियो। सहमति बमोजिम अपचलन गरिएको रकमको हिसाब राख्ने काम पनि महादेव भन्ने वेदप्रकाश सिंह ठकुरीले गर्ने रायको बयान छ ।
बैंकलाई समय समयमा चाहिने ब्यालेन्स सिट, हिसाब मिलान दिन असार मसान्त, नेपाल राष्ट्र बैंकको निरीक्षण र लेखापरीक्षणको सिलसिलामा बिभिन्न बैंकमा रहेको खाताको हिसाब मिलान भएको देखाउने काम लेखा विभागले गर्दै आएको थियो ।
अपचलन भएको रकम मिलाउनको लागि अन्य बैंकमा रहेको खाताको ब्यालेन्स सिट किर्ते बनाउने गरेका थिए । नेपाल राष्ट्र बैंक, आन्तरिक तथा बाह्य लेखा परीक्षकलाई चाहिने सबै डकुमेन्ट किर्ते गरी बनाई गुमराहमा पार्ने काम निरजविक्रम शाहले गर्ने गरेका थिए ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थाले कायम गर्नु पर्ने अनिवार्य नगद अनुपात मौज्दात कायम राख्ने प्रयोजनको लागि खोलिएको खातामा अपर्याप्त मौज्दात राखी नियमानुसार राख्नु पर्ने अनिवार्य नगद अनुपात मौज्दात खातामा नभए पनि खातामा कायम रहेको भनी गलत विवरण नेपाल राष्ट्र बैंकमा बुझाउने गरेको पाइएको छ । नक्कली ऋणी खडा गरी ऋण लगानी र परियोजनामा ऋण लगानी गरेको देखाई रकम आफैले प्रयोग गर्ने गरेको पनि उनीहरूले स्वीकार गरेका छन् ।